रोगभन्दा भोकमरीको डर: लकडाउनले सिकाएका १७ पाठ

172
  •  
  •  
  •  

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको चार महिना पुग्न लाग्यो। माघ १० गतेजेठ ५ गतेसम्म आइपुग्दा संक्रमितको संख्या तीन सय नाघेको छ।

Photo: WFP/ Yashaswi Shrestha

कोरोनाका कारण दुई जनाको मृत्यु भएको सरकारले पुष्टि गरिसकेको छ। पहिलो सय जना संक्रमित देखिनका लागि झण्डै सय दिन लागेको थियो भने ५ दिनमैँ अर्को सय जनामा कोरोना संक्रमण भएको पुष्टि भयो। नेपालमा दोस्रो व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसँगै सरकारले सचेत भएर अन्तर्राष्ट्रिय हवाइ उडान तथा सीमानाका बन्द गर्ने निर्णय गरेको थियो, गत चैतमा।  त्यसलगत्तै सरकारले ११ चैतदेखि लागू हुने गरी ८ दिनका लागि पहिलो पटक लकडाउनको समेत घोषणा गर्‍यो । र, अहिले फेरि २० जेठसम्मका लागि लकडाउन लम्ब्याइएको छ।

सुरुमा विदेशबाट फर्किएकामा संक्रमण देखिएकोमा अहिले समुदाय स्तरसम्म फैलिइसकेको छ। विशेषगरी भारतीय सीमाबाट निस्फिक्री घुमफिर, भौतिक दूरीसमेत कायम गर्न नसक्दा कोरोना संक्रमण समुदायमा समेत व्यापक बन्ने सम्भावना देखिएको छ।

लेखक विनाेद शर्मा।

लकडाउनका १७ वटा पाठ:
१) सरकारी संयन्त्र बलियो बनाउनुपर्छ
एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण देखिनुले संक्रमण समुदायसम्म फैलिइसकेको र त्यसले भोलिका दिनमा भयावह अवस्था श्रृजना हुनसक्ने संकेत गरेको छ। तर तीनै तहका सरकार अहिलेसम्म लकडाउन प्रभावितका लागि राहत वितरणमै अलमलिएका छन्। अहिलेसम्म न त कोरोना परीक्षणका लागि पर्याप्त कीट छ, न उपचारका लागि पर्याप्त शैयासहितका अस्पताल छन् न त चिकित्सक, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) नै जगेडा छ।

२) कोरोनाबाट जोगिने उत्तम उपाय घरभित्रै बस्नु 
नीति निर्माता नै हस्ताक्षर नभएको पास बोकेर हिँड्ने र पक्राउ पर्ने भएपछि सर्वसाधारणले लकडाउनको पालना गरेनन् भन्न मिल्ने ठाउँ छैन। कोरोनाबाट बच्ने उत्तम उपाय भनेको घरभित्रै बस्नु हो। हामी लिन नगए कोरोनाको जीवाणु हाम्रो घरमा आउँदैन। नाका बन्द भए पनि चोरबाटो खुल्ला भएका कारण भारतबाट लुकिछिपी नेपाल आउनेहरु दिन प्रतिदिन बढिरहेका छन्। जसबाट संक्रमणको जोखिम पनि बढिरहेको छ।

३) पूर्वतयारीमा सरकारको लाचारीपन
७१ जना संक्रमित रहेको पर्सामा उपचारका लागि अस्पताल छैन। नारायणी अस्पतालको आइसोलेशन वार्ड भरिएपछि सिद्धार्थ स्कुलमा बनाइएको आइशोलेसन कक्षमा १९ जना संक्रमित उपचार गराउनु परेकोले पनि हाम्रो पूर्वतयारीको अवस्था छर्लङ्ग देखिन्छ। स्वास्थ्य सामाग्री खरिदमा भइरहेको ढिलाईले पनि सरकारले लाचारीपनलाई उदाङ्गो बनाएको छ।

भविष्यमा महामारी कसरी फैलन सक्छ, रोकथाम र नियन्त्रणका लागि नयाँ मोडल तयार गरी त्यसकै आधारमा हामीलाई चाहिने पूर्वाधार, जनशक्ति, स्वास्थ्यका साधनहरुको खरिद तथा मौजुदा तयारी, महामारीपश्चात आउने आर्थिक, सामाजिक समस्या निराकरणका उपायहरु गरिनुपर्छ।

४) संकटका बेला छिमेकीको प्रहार
छिमेकी मुलुक विशेष गरी भारले नेपालमा संकट परेका बेला सहयोगको साटो विभिन्न वाहनामा अवरोध गरिरहेको छ। २०७२ को भूकम्पका बेला ६ महिनासम्म अघोषित नाकाबन्दी गरेका कारण नेपालमा अतिआवश्यक बस्तुको अभाव भयो। लकडाउनको बेलामा पनि सीमाक्षेत्रमा रहेका नेपालीमाथि सौहार्दपूर्ण व्यवहार भएन।

नेपाली भूमि अतिक्रमण गर्दै कालापानी क्षेत्रमा मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गर्नुले पनि छिमेकीको व्यवहार प्रष्ट हुन्छ। वैदेशिक व्यापारको दुई तिहाइ हिस्सा ओगट्ने छिमेकी देशबाट भैरहने अवरोधलाई ध्यानमा राख्दै बिकल्प खोज्नु पर्ने देखिन्छ।

५) विपद् पश्चात बढ्छ गरिबी 
२०७२ को भूकम्पका कारण करिब ७ लाख नेपाली गरिबीको रेखामुनी धकेलिएको तथ्याङ्क सरकारले सार्वजनिक गरेको थियो । कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भएको, रोजगारी गुमेकोका कारण पनि गरिबी बढ्ने सहजै अनुमान लगाउन सकिन्छ।

६) कृषिजन्य उत्पादन र औषधिमा देश आत्मनिर्भर हुनुपर्छ
नेपालका दुइतिहाइ नागरिक कृषि पेशामा निर्भर भए पनि वार्षिक डेढ खर्बभन्दा बढीको कृषिबस्तु आयात गर्नु परिरहेको सन्दर्भमा संकटका बेला खाद्यान्न अभाव र भोकमरीको श्रृजना हुन सक्ने प्रष्ट देखिन्छ।

२०७२ को भूकम्पपछि जग्गा जमिन बाँझो राखेर शहर केन्द्रित हुने संख्या बढेकोले पनि पछिल्ला वर्षमा राष्ट्रिय उत्पादन र आवश्यकता बीचको खाडल झन बढिरहेको छ। नेपालमा औषधि उत्पादनका लागि पर्याप्त कच्चापदार्थ भए पनि उत्पादन भने ४५ प्रतिशत मात्रै देखिन्छ।

बाँकी ५५ प्रतिशत औषधि तथा कच्चापदार्थको मुख्य बजार भनेको छिमेकी मुलुक भारत नै हो। स्वदेशमा उत्पादित कृषिजन्य उत्पादनले बजार नपाउने समस्या अरु बेलाजस्तै लकडाउनका बेलामा पनि देखियो। नागरिकको उत्पादन राज्यले किनिदिने वा बजारको ग्यारेन्टी राज्यबाट नहुँदासम्म किसान विशेषगरी युवाहरुलाई कृषिमा आकर्षित गर्न सकिन्न।

७) विपद्ले बढाउँछ बेरोजगार 
गत वर्षको तथ्याङ्क अनुसार नेपालमा बेरोजगारीको दर ११ दशमलव ४ प्रतिशत छ।

कोरोनाका कारण स्वदेशमै लाखौं नागरिकले रोजगारी गुमाएको विश्लेषण भैरहे पनि यकीन तथ्याङ्क आइसकेको छैन। ०७२ को भूकम्पमा भत्किएका संरचनाको पुननिर्माणको लागि जनशक्ति आवश्यक भए पनि कोरोनाका कारण बेरोजगार नागरिकहरुको संख्या अत्याधिक बनाएको छ।

८) लकडाउनको पालना र भौतिक दूरी कायम
खाद्यान्न पसल, औषधि पसल तथा स्वास्थ्य संस्था, निर्माण स्थल, औषधि कारखाना, उद्योगधन्दामा भौतिक दूरी कायम गराउन सकिएको छैन। भौतिक दूरी कायम गराउने केही प्रयास भए पनि पर्याप्त छैन । जसका कारण संक्रमणको जोखिम बढाउन सक्छ।

९) प्रविधिको उच्चतम प्रयोग
कोरोनाको लक्षण र बच्ने उपाय लगायतका विषयमा नेपाल सरकारले नेपाल टेलिकमको प्रयोग गरेर सन्देश प्रवाह गर्ने काम गर्यो। यो कामको नागरिकले मुक्तकण्ठले प्रशंसा गरेका छन्। यसका साथै अनलाइन मार्फत कक्षा सञ्चालनको सुरुवात गर्नु पनि सराहनिय काम हो। तर प्रविधिको पहुँचमा नभएका नागरिकका लागि भने यो काम हात्ति आयो हात्ति आयो फुस्सा भने झैं भएको छ।

१०) परम्परागत तरिका
कोरोना हातको माध्यमबाट सर्ने भएकोले हात नमिलाउने, अंकमाल नगर्ने बरु नमस्कार गर्ने संस्कृतिको विकास भएको छ । यसले परस्परागत तरिकालाई अनुशरण गरेको छ ।

११) शहरभन्दा गाउँ प्यारो
काठमाडौं लगायत देशका विभिन्न शहरमा रोजगारी गुमेपछि तथा अप्ठेरो परेपछि हजारौंको सँख्यामा मानिस गाउँ फर्किए। आखिर हाम्रो ठूलो जनसँख्यालाई पाल्न सक्ने क्षमता गाउँमैं रहेछ भन्ने महशुस पनि गराएको छ।

१२) रोगभन्दा भोकमरीको डर
कोरोनाले आफ्नो निर्मम रुप देखाउँदै गर्दा कोरोनाको कारणभन्दा कहरपछिको भोकमरीका कारण मर्ने मानिसको सँख्या अत्याधिक हुन्छ की भन्ने चिन्ता सर्वत्र छ। हामी कोरोनाको संकटमा मात्रै छैनौं यसकै कारण भविष्यमा सिर्जना हुने अको विश्वव्यापी संकट भोकमरीको सम्मुखमा छौं। सामान्य अवस्था रहँदा पनि पर्याप्त मल, बीउ नपाएर खेतिपाती गर्न नपाएको र उत्पादन घटेका समाचार केही वर्षदेखि सामान्य लाग्न थालेका छन्।

१३) पासका कारण संक्रमित बढे
शक्तिको दुरुपयोग गरी पास बनाइ काठमाडौं भित्र र बाहिर गर्नु, उद्धारका नाममा राजनीतिक मानिसहरुको ओसार पसार गर्दा पनि कोरोना एकै पटक धेरैमा संक्रमण पुष्टि भएको छ । परीक्षणको दायरा बढाउँदै जाँदा संक्रमितको सँख्या पनि बढ्दै जाने देखिन्छ ।

१४) मानसिक स्वास्थ्य समस्या थपिँदै
विश्वमा ३ लाखभन्दा बढीको ज्यान जानेगरी फैलिइरहेको कोरोनाको संक्रमणका कारण नागरिकमा मानसिक स्वास्थ्यमा समस्या पनि थपिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि भैरहेका लकडाउन, सचेतनाका लागि गरिएको प्रचार प्रसारले कतिपयमा नकारात्मक प्रभाव देखिएको छ । विश्वलाई नैं आक्रान्त तुल्याइरहेको कोरोनाले मलाई मात्रै असर पुर्याउँछ की भन्ने भ्रममा परेका कारण पनि मानिसमा मानसिक स्वास्थ्य समस्या बढेका कारण मनोसामाजिक परामर्शको खाँचो पर्छ।

१५) धार्मिक स्थल बन्द
लकडाउनका कारण धार्मिक कार्यहरु पनि बन्द वा साँघुरो बनाउनु परेको छ। मच्छिन्द्रनाथको जात्रा, विस्केट जात्रा लगायतका जात्राहरु स्थगित गर्नु परेको छ । पशुपतिनाथ लगायतका विभिन्न मन्दिरहरुमा हुने आरती बन्द गरिएको छ। मन्दिर, मस्जिद, चर्च, गुम्बा लगायतमा हुने भिडभाडका कारण कोरोना संक्रमण बढ्ने भएकोले बन्द गरिएको हो । भगवानका घर बन्द भए पनि मानिसहरु घरबाटै भए पनि धार्मिक कार्यमा भने सक्रिय छन् ।

१६) पिसिआर परीक्षणको दायरा न्यून
जेठ ४ (आइतबार) गतेसम्म कोरोना भए नभएको एकीन गर्ने पोलिमर चेन रियाक्सन (पीसीआर) विधिबाट जम्मा २८ हजार १ सय ६३ जनाको मात्रै परीक्षण भएको छ । तीन करोड जनसंख्यालाई आधार मान्दा यो संख्या केही होइन ।

द्रुत विधि आरडिटीबाट परीक्षण गरिएको स‌ंख्या पनि ६७ हजार ७ सय ६९ मात्रै छ । दुवै संख्या जोड्दा पनि ०.३ प्रतिशतको पनि परीक्षण हुन सकेको छेन । पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गर्नु पर्ने अवस्था आउनु भनेको राम्रो होइन ।

१६) कन्ट्याक ट्रेसिङमा फितलो
संक्रमित व्यक्ति कहाँबाट आएको हो ? कुन माध्यमबाट आयो ? आउँदा उ सँग को को थिए ? यसले कस कसलाई भेट्यो ? उ कहाँ कहाँ पुग्यो ? उसँगै आएका व्यक्तिहरु कहाँका हुन् ? उनीहरुको सम्पर्कमा आएकाहरुको विवरण लगायत संकलन गर्ने विधि कन्ट्याक ट्रेसिङ हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्न नदिन संक्रमितको सम्पूर्ण विवरण संकलन गरेर सबै सम्भावित संक्रमितलाई क्वारेन्टाइनमा राख्न र उपचार गर्न ट्रेसिङ गरिन्छ । तर नेपालमा संक्रमितहरुको कन्ट्याक ट्रेसिङ प्रभावकारी रुपबाट हुन सकेको छैन ।

१७) लैङ्गिक हिंसा तथा महिलामा कार्यबोझ
सामान्य अवस्थामा पनि महिलालमा कार्यबोझ बढी नै छ । लकडाउनका बेला विद्यालय बन्द भएपछि बालबालिका घरमै छन् । रोजगारीमा जाने पुरुष पनि कामविहीन भएर घरमै छन् । जसले गर्दा महिलाको कार्यबोझ बढेको छ भने घरेलु हिंसा तथा महिला हिंसाका घटना पनि बढिरहेको पाइएको छ ।


  •  
  •  
  •