मानव बेचविखन : खै न्यायमा पहुँच

166
  •  
  •  
  •  

राष्ट्रिय मानव अधिकार आयोगबाट हालै प्रकाशित सन् २०१८ को मानव बेचविखन सम्बन्धी प्रतिवेदन अनुसार नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ ।

यो संख्या विगतका प्रतिवेदनको तुलनामा आश्चर्यजनक रुपमा बढेको देखिन्छ । तर त्यसमध्ये उजुरी दर्ता गरी अदालतसम्म आइपुग्ने मुद्दा संख्या प्रतिवर्ष करिब ३ सयको हाराहारीमा मात्र रहेको छ ।

विश्वमा करिब १ सय ५० मिलियन मानिसहरु बेचबिखनमा परेकोमा र त्यसको ०.४ प्रतिशत मात्र कानूनको दायरामा आउने गरेको तथ्यांक छ । यसको मतलब हो कि सबै पीडितले उजुरी दिन तत्परता देखाउँदैनन् । यसका थुप्रै कारणहर छन् ।

यसको प्रमुख कारणमा जाहेरी दिन आउने पीडित पक्षलाई प्रोत्साहित गरिनुको सट्टा दुरुत्साहित हुने वातावरण एकातिर छ । अर्कोतिर न्यायमा सहज पहुँच उपलब्ध गराउन सकिएको छैन ।

बेचविखनमा परेर आर्थिक रुपमा धरासयी तथा शारिरीक र मानसिक रुपले विक्षिप्त भएर बसेको बेला कहाँ जाने, के गर्ने, कसलाई भन्ने जस्ता कुराहरुको सही जानकारी नपाउने भएबाट पीडितहरु गम्भीर समस्यामा गर्ने गर्दछन् ।

कानूनी कारबाहीमा गै हालेमा उनीहरुमा विभिन्न समस्या देखिने गर्दछ ।

विशेष गरि उल्लखित समस्याहरु उनीहरुको सामुन्नेमा रहेका हुन्छन् ।

१‍ परिवार तथा नातेदारबाट जाहेरी दर्ता गर्न हौसला नदिइनु ।
२. इज्जत, मर्यादा, सामाजिक कलंक जस्ता कुराहरुलाई बढावा दिइनु ।
३. जाहेरी दर्ता गर्न पैसा लाग्दैन, वकिल चाहिँदैन, प्रहरीले नै जाहेरी लेखी दर्ता गरिदिन्छन् भन्ने जस्ता सामन्य कुराहरुको जानकारीको अभाव हुनु ।
४. सामाजिक परिवेश पनि असहयोगी रहनु ।
५. धेरैजसो छिःछिः दूरदूर गर्ने, कसैले मद्दत नगर्ने, सवै गल्ती र दोष बेचिनेमाथि थोपर्ने सामाजिक परिवेश ।
६. प्रहरी कार्यालय, चौकीमा पीडितको गोपनीयताको सुरक्षा नहुने ।
७. पीडितमाथि हाँसिमजाक गर्ने प्रवृत्ति र हेयको दृष्टिले हेर्ने चलन।
८. पीडितको आत्मसम्मानमा ठेस पुग्ने खालका बोली व्यवहार गरिने संभावना रहनु ।
९. कतिपय अवस्थमा अधिकारीहरुबाट जाहेरी लिन निरुत्साहित गरिनु ।
१०. उचित कानूनीबाटो देखाई सहयोग गर्नुको साटो जटिलता देखाई फिर्ता पठाई दिनु।
११. पीडितले भय लाज संकोच र डरले सवै व्यहोरा दुरुस्त बताउन नसक्नु ।
१२. घटना बारे प्रस्ट भन्न नसक्दा र उजुरी लिनेले निरुत्साहित गर्ने संभावना रहनु ।
१३. प्रहरीबाट प्रमाण मागिनु, प्रमाण पेश गर्न नसक्नुको कारण त्यत्तिकै फिर्ता गरिदिनु ।
१४. नेपाली भाषा बोल्न नजान्ने पीडितको हकमा अनुवादकको अभाव हुनु ।
१४. भौगोलिक रुपमा टाढा बस्ने पीडितहरुको हकमा जाने आउने खर्च जस्ता कुराहरुको समस्या हुनु ।
१६. लेखपढ गर्न नजान्ने पीडितको हकमा दस्तखत गर्नुपूर्व आफुले विश्वास गरेको मान्छेबाट पढ्न सुन्न पाइने व्यवस्थाको अभाव हुनु ।
१७. पीडितको हकमा अन्य कसैले जाहेरी लिएर आएको छ भने दर्ता गर्न कठिनाई हुनु ।
१८. जाहेरी दरखास्त कुनै व्यक्ति मार्फत पठाइएको खण्डमा त्यस्ता व्यक्तिलाई उचित रेस्पोन्स नगर्नु ।
१९. पीडित र साक्षीको सुरक्षा हुन्छ भन्ने कुराको ग्यारेन्टी गर्न नसकिनु ।
२०. पीडितमैत्री वातावरणको अभाव रहनु ।
२१. उद्धार भै आएका पीडितको संरक्षण नै पहिलो सवाल भएकोमा उजुरीमा ढिलाइ हुनु ।
२२. सामाजिक राजनीतिक प्रभावहरुको नकारात्मक वातावरण रहनु ।

यी र यस्तै अनेकन समस्याहरु झेल्नुपर्ने हुनाले यस्ता अपराधको अनुसन्धानमा थुप्रै व्यवहारिक समस्याहरु रहेका छन् ।
यसका लागि पीडित केन्द्रित न्यायका लागि कानून कार्यान्वयनको निकायमा रहनेहरुले गम्भीरताकासाथ पीडितको समस्या बुझि आफ्नो कर्तव्य निर्वाह गर्नु अति नै आवश्यक देखिन्छ
यसका साथै मानव बेचबिखन सम्बन्धी अपराधको बारेमा सचेतना फैलाउन यस दिनको सन्देश व्यापक रुपमा जनमानसमा पु्र्याउनु आवश्यक छ ।

आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धरतीमा फस्टाउँदै जानु भनेको यस कथित सभ्य समाजको कलंक नै हो ।

भनिन्छ, संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागूऔषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा रहेकाे छ ।

जसमा प्रतिवर्ष ४२ बिलियन डलर बराबरको कारोबार हुने गर्दछ । विश्वका सरकारहरु यो अपराध नियन्त्रण गर्न लगभग असफल रहेका छन् । आधुनिक युगको दासता भनी परिभाषित यस अपराधलाई नियन्त्रण गर्नबाट सरकारहरु असफल हुनु भनेको मानव मात्रको लागि लज्जाको विषय हो ।

मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकाहरुलाई तारो बनाउँछ ।
उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ । दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवर्जस्ती संलग्न गराउँदछन् ।

महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमा लगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको छ । पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ ।

अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ । यस अपराधको संगठित जालो तोड्नु नै आजको मुख्य अवश्यकता हो ।

तसर्थ नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी जुन कानून लागू गरेको छ त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले उचित न्याय पाउन नसक्ने अवस्था रहेको छ ।

त्यसको अन्त्यको लागि सरकारको क्षेत्रबाट मात्र होइन नागरिक तहबाट समेत आवाज उठाईनुपर्दछ ।

(कुँवर उच्च अदालत पाटनका न्यायाधिश हुन् ।)


  •  
  •  
  •