छुट्याइएको बजेट र श्रोत साधनको प्रभावकारी रुपमा सदुपयाेग नहुनले विकास निर्माणका काम पछाडि परेको : अर्थमन्त्री

191
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : अर्थमन्त्री युवराज खतिवडाले छुट्याइएको बजेट र श्रोत साधनको प्रभावकारी रुपमा कार्यान्वयन नहुनले विकास निर्माणका काम पछाडि परेको बताएका छन्। अर्थमन्त्री खतिवडाले बजेट कार्यान्वयन नहुने समस्याले विकासका काममा ठूलो चुनौती रहेको बताए । शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विकास निर्माण लगायत देशलार्इ समृद्ध बनाउने अभियान तिर सबै मिलेर लाग्नुपर्नेमा जाेड दिए।

उनले राजस्व चुहावट, वैदेशिक सहायताको दुरुपयोग, आयोजना निर्माणमा ढिलासुस्ती र दातृ निकायबाट आउनुपर्ने सहयोग रकम समयमै नआउँदा सरकारद्धारा डिजाइन गरिएका काम कारवाही प्रभावित हुने गरेको बताए। वैदेशिक ऋण बढ्दै गए पनि विकास निर्माणका काममा ठूलो प्रगति नभएको अर्थमन्त्री खतिवडाको भनाई छ ।

भूकम्पबाट क्षतिग्रस्त घर तथा प्राकृतिक सम्पदाको पुनर्निर्माणमा ढिला भइरहेको भन्दै उनले यसका लागि दक्ष जनशक्ति र कडा अनुगमनको खाँचो रहेको बताए। अर्थमन्त्री खतिवडाले व्यवस्थापकीय पक्ष कमजोर हुँदा सरकारी स्वामित्वका काम निजीकरण गरिए पनि प्रभावकारी
रुपमा सञ्चालन हुन नसकेको दाबी गरे । सरकारले कृषि, पर्यटन र जलविद्युतका क्षेत्रमा राम्रो काम गर्ने अवसर पाएको र यसमा वैदेशिक सहयोग बढ्ने सम्भावना रहेको पनि उल्लेख गरे।

तर यसका लागि सरकारले आफ्ना प्रतिबद्धता अनुसार काम गर्न इमान्दारिता देखाउनुपर्ने उनको भनाई छ । उनले निजी र सहकारी क्षेत्रका कामलाई प्रोत्साहन गरिने भन्दै प्रदेश र स्थानीय तहलाई राजस्व संकलन गरी स्रोत परिचालन गर्न हौसला दिइने पनि बताए।


  •  
  •  
  •