अर्थमन्त्री डा महत र अमेरिकी मन्त्रीहरुबीच उच्चस्तरीय भेटघाट

244
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनस) : अर्थमन्त्री डा. रामशरण महतले अमेरिकी विदेश सहायकमन्त्री निशा विश्वालसंग भेटवार्ता गरेका छन् । अमेरिका भ्रमणमा रहेका मन्त्री महतले अमेरिकाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा बिगत लामो समयदेखि पु¥याएको सहयोगको सहारना गर्दै आगामी दिनमा नेपाललाई अझ बढी सहयोग गर्न आग्रह गरे ।
सो अवसरमा डा. महतले नेपालको जलबिद्युतका क्षेत्रमा विदेशी लगानीको संभावना बढेको जानकारी गराउँदै नेपालको जलबिद्युतका क्षेत्रमा लगानी गरेर विदेशी लगानीकर्ताहरुले प्रचूर लाभ लिन सक्ने स्थिति निर्माण भएको दाबी गरे ।
उनले हालै भारतसँग भएको बिद्युत व्यापार सम्झौताले नेपालमा बिद्युत उत्पादन गर्न सकेमा छिमेकी भारतको ठूलो बजार प्राप्त गर्न सकिने बताए । अहिले नै ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको कार्यान्वयनका लागि आयोजना विकास सम्झौता पनि भैसकेको उनले जानकारी दिए ।
डा. महतले नेपालको अन्य मुलुकसँगको व्यापारघाटा धेरै भएको उल्लेख गर्दै यसलाई घटाउनका लागि अमेरिकाले दिदै आएको जीएसपी सुविधा जारी राख्न आग्रह गरे । उनले अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गरी लाभ लिन पनि अनुरोध गरे ।
सो अवसरमा मन्त्री डा. महतले लगानीकर्ताहरुलाई अनुकूल वातावरण निर्माण गरिदिनका लागि आफूले बजेटमार्फत नै नयाँ आर्थिक सुधार कार्यक्रमको घोषणा गरेको र दर्जनौ कानूनहरुलाई लगानीमैत्री बनाउने व्यापक तयारी भैरहेको जानकारी दिए ।
उनले संबिधान जारी गर्ने अन्तिम तयारी भैरहेको र त्यसपछि मुलुक आर्थिक एजेण्डालाई कार्यान्वयन गर्नेमा केन्द्रित हुने उललेख गरे ।

सो अवसरमा विदेश सहायकमन्त्री विश्वालले नेपालमा पछिल्ला समयमा विकसित राजनीतिक तथा आर्थिक घट्नाक्रमको प्रशंसा गरिन । उनले नेपालमा समयमै संबिधान जारी भै राजनीतिक स्थिरता आउने र आर्थिक उन्नतितर्फ देश अगाडि बढ्ने विश्वास व्यक्त गरिन् । विदेश सहायकमन्त्री विश्वालले अमेरिकाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा निरन्तर सघाउने आश्वासनसमेत दिइन् ।
उनले जीएसपी सुविधालाई जारी राख्नेबारे कंग्रेसमा छलफल भैरहेको जानकारी दिइन् ।
नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्ताहरु इच्छुक रहेको जानकारी दिदै उनले नेपाललाई दिदै आएको सहयोग बढाउने आश्वासन पनि दिइन ।


  •  
  •  
  •