बिरिङ खोलामा पुल निर्माण हुँदै

107
  •  
  •  
  •  

झापा, १४ असोज । हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलामा पक्की पुल निर्माण कार्य सुरु भएसँगै दक्षिणी झापाका सर्वसाधारणमा खुसियाली छाएको छ ।
हुलाकी राजमार्ग सडक आयोजनाकोे रु १५ करोडको लगानीमा सो खोलामा पुल निर्माण कार्य प्ररम्भ भएको हो । हुलाकी राजमार्गअन्तर्गत राजगढ र शरणामती गाविसको बीच भएर बग्ने बिरिङ खोलामा पुल निर्माण भएपछि पश्चिम दक्षिण झापाका सर्वसाधारणलाई सदरमुकाम आवतजावत गर्न सहज हुने छ ।
झापाको पुरानो सदरमुकाम झापा बजार आसपास र टाघनडुब्बा, शरणामती, कुमरखोदलगायतका गाविसका स्थानीयवासीलाई राजगढ बजार आवतजावतमा समेत पुल निर्माणले सहजता पुग्ने राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीले बताए ।

तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको पुलको लम्बाइ ३१९ मिटर रहेको पुल निर्माणमा खटिएका ठेकेदार मदन अधिकारीले जानकारी दिए ।

यसअघि खोलामा पुल नहुँदा सो क्षेत्रका विद्यार्थी र सर्वसाधारणले सबैभन्दा बढी समस्या झेल्दै आएका थिए ।

बिरिङ खोलामा पुल नहुँदा उनीहरू दैनिक चर्को शुल्क तिरेर जोखिमपूर्ण तवरले डुङ्गा चढेर खोला वारपार गर्न बाध्य रहेका स्थानीय शिक्षक लोकबन्धु कटुवालले जानकारी दिए ।

यता पुल निर्माणको सुरुवातसँगै राजगढ र शरणामती गाविसका स्थानीयले खोलाले बर्सेनि धार परिवर्तन गर्ने गरेकाले खोलामा तटबन्ध गर्नसमेत माग गरेका छन् ।

गत वर्ष बिरिङ खोलामा आएको बाढीले सो क्षेत्रका सर्वसाधारणको पचासौँ बिघा जमिन बगरमा परिणत गरेको थियो ।

यसअघि नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोप कार्यालयको सहयोगमा सो स्थानमा तटबन्ध गरिएको थियो । तर गत वर्ष आएको बाढीले तटबन्ध भत्काउन सुरु गरेपछि स्थानीयले पुनः तटबन्धको माग गरेका हुन् ।


  •  
  •  
  •