काठमाडौं २४ भदौ (ओएनएस) : सरकारले प्रत्येक बर्ष दशैंमा जनतालाई उपभोग्य सामग्रीमा दिँदै आएको छुटलाई यस बर्ष पनि निरन्तरता दिने भएको छ । सरकारले दशै तिहार तथा छठलाई लक्षित गर्दै सृुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । त्यस्तै विगतमा झै यस बर्ष पनि सरकारले उपलब्ध गराउने छुटको प्राथमिकतामा सहरी क्षेत्रका जनता नै परेका छन् ।
देशभर ७१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएपनि ग्रामिण भेगका जनता सरकारको प्राथमिकतामा परेको छैन । ७१ मध्ये कुनै पनि स्थान ग्रामिण भेगमा परेको छैन ।
वाणिज्य मन्त्रालयले सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरसन, र नेशनल ट्रेडिङ लिमिटेडलाई निर्देशन दिएको छ । मन्त्रालयका अनुसार साल्ट ट्रेडिङले काठमाडौको कोटेश्वर,टेकु,बल्खु,सतुंगल, कालिमाटीलगायत स्थानमा राख्ने भएको छ ।
त्यस्तै उपत्यका बाहिर महेन्द्रनगर, दिपायल, डडेलधुरा, त्रिशुली, विर्तामोड, नरायणगढ, पोखरा, बागलुङ, भैरहवा, दाङ, सुर्खेत,नेपालगञ्ज, बनेपा ,धुलिखेल, विराटनगर, राजविराज, जनकपुर, बीरगन्ज,धागढीलगायत स्थानमा सुपथ मूल्य पसल राख्ने बताएको छ ।
त्यसैगरी नेशनल ट्रेडिङले उपत्यका भित्र थापाथली,टेकु तथा भद्रकालीमा मेसिनरी सामग्री विक्रीका लागि राख्ने भएको छ ।
खाद्य संस्थानले टेकु रामशमहपथ,बल्खु, कोटेश्वर,जावलाखेल तथा भक्तपुरका राख्न लागेको संस्थानका नायव महाप्रवन्धक नवराज उपाध्यायले बताए । त्यसैगरी नेपाल दुग्ध संस्थानले लैनचोर र रामशाहपथमा पसल राखेर दुग्धजन्य पदार्थमा विशेष छुट दिने बताएको छ ।
छुटको नौटंकी
सरकारले यी सुपथ मूल्यका पसल राखेर नौटङ्की गरेको उपभोक्ताको धारणा छ ।
सुपथ मूल्य पसल मार्फ डिडीसीले १केजी घ्युमा १० रुपैयाँ छुट प्रदान गर्ने भएको छ । त्यस्तै चिनीमा प्रतिकेजी ५ र नुनमा ३ रुपैयाँ छुट दिने भएको छ । यता नेशनल ट्रेडिङले भने २ देखि ७० प्रतिशतसम्म छुट दिने बताएको छ । तर ती सामग्रीहरु धेरै पुरानो भएकोले धेरै छुट दिन लागेको नेशनल ट्रेडिङले जानकारी दिएको छ । पुराना सामान धेरै भएकोमा थन्काएर राख्नुको साटो सस्तो मूल्यमा बेच्न लागिएको ट्रेडिङका निमित्त महाप्रवन्धक सत्यनारायण मेहेताले बताए ।
सुपथ मूल्य पसल असोज १ गते देखि १५ गतेसम्म सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ ।