टेलिकमले साढे २२ लाख लाइन टेलिफोन थप गर्ने

378
  •  
  •  
  •  

काठमाडौं १५ भदौ (ओएनएस) :  नेपाल टेलिकमले आर्थिक बर्ष २०७१÷७२ मा कुल २२ लाख ५८ हजार १ सय ८३ लाइन थप टेलिफोन वितरण गर्ने भएको छ । त्यस्तै सोही आवमा २० लाख मोवाइल लाइन वितरण गर्ने योजना रहेको टेलिकमका प्रवन्ध निर्देशक बुद्विप्रसाद आचार्यले बताए ।

मोवाइल सेवाप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै मुलुकभर गुणस्तरीय थ्रीजी सेवा उपलब्ध गराउन थप बीटीएस जडान गर्न लागिएको उनले जानकारी दिए ।
‘नारायणी र जनकपुर अञ्चलका तराईका जिल्लाहरुमा हाल रहेका पुराना उपकरणहरुलाई हटाई क्षमतायुक्त नयाँ उपकरण ल्याउन लागेका छौं’ उनले भने ।
त्यस्तै मोवाइल सेट निर्माता तथा विक्रेता कम्पनीहरुसँग ‘बण्डलीङ’ गरी मोवाइल सेवाको विक्री वितरणलाई थप सहज बनाइने उनले जानकारी दिए ।
आइतवार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । त्यसैगरी चालुआवमा सीडीएमए प्रविधिका २ लाख लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।

यस आव भित्र आइपीसीडीएमए सेवाको विस्तार गरी ७५ वटै जिल्लाका ग्रामीण क्षेत्रमा समेत सेवा सञ्चालनमा ल्याइले टेलिकमले जानकारी दिएको छ । डाटा सेवाको माग बढेकोले आइपी सीडीएमए मोवाइल सेवाको सेट तथा डाटा कार्ड निर्माता कम्पनीसँग सहकार्य गर्न लागिएको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले बताइन् ।

पीएसटीएन (ल्याण्ड लाइन) सेवाका २५ हजार ९ सय ५६ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ ।  टेलिकमले आफ्नो सेवा विस्तार गर्ने क्रममा मुलुकमा प्रमुख शहरहरुमा कस्टुमर एक्स्पेरियन्स सेन्टर(सीइसी) सञ्चालनमा ल्याउन लागेको छ । कम्पनीका सेवा बारे जानकारी दिने उद्देश्यले सीइसी स्थापना गर्न लागेको बताइएको छ । वाइम्याक्स प्रविधि मार्फत थप स्थानमा हटस्पट स्थापना गरी वाइफाइ सेवा वितरण गर्ने टेलिकमले जानकारी दिएको छ ।
यसैगरी टेलिकमले एडीएसएलको ३२ हजार २ सय २७ लाइन वितरण गर्ने भएको छ । यसैबीच गत आवमा टेलिकमको ग्राहक आधार १ करोड ९ लाख ४ हजार ४ सय ६२ थियो । सो अवधिमा १७ लाख २८ हजार ४ सय लाइन टेलिफोन वितरण गरेको बताइएको छ । त्यस्तै ४६ लाख ३ सय ५२ इण्टरनेट ग्राहक रहेको टेलिकमले बताएको छ । जुन अघिल्लो आवको भन्दा १४ लाख २२ हजार ६ सय ८५ ले बढी हो ।

टेलिकमले गत आवमा ३९ अर्व २६ करोड ८४ लाख राजश्व आर्जन गरेको छ । यसैगरी सो अवधिमा कर पछिको मुनाफा ११ अर्व ६८ करोड ११ लाख रहेको टेलिकमले जानकारी दिएको छ ।


  •  
  •  
  •