माँग पूरा नभए अनिश्चितकालिन रसुवा बन्द गर्ने चेतावनी

92
  •  
  •  
  •  

 
काठमाडौं, ३ भदौं (ओएनएस) : रसुवाका स्थानीयवासिन्दाले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध संचालक कुलमान घिसिङलाई हटाउने निर्णय गृहमन्त्री र उर्जामन्त्रीले ठाडो हस्तक्षेप भएको भन्दै तत्काल निर्णय फिर्ता नलिए आगामी भदौ ६ गतेबाट अनिश्चितकालिन रसुवा बन्द गर्ने चेतावनी दिएका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर रसुवाली जनताले उर्जामन्त्री राधा ज्ञवालीले चिलिमे हाईडा पावरमा एकाधिकार जमाई राजनीतिक दलका मतियारलाई भर्ती गरेको आरोप लगाउँदै तत्काल निर्णय फिर्ता नलिए अनिश्चितकालिन रसुवा बन्द गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले चिलिमे राष्ट्रकै नमूना हाईडा«े पावरका रुपमा परिचित भएकाले यसको छवीलाई धुमिल्याउने जो कोहीका विरुद्धमा पनि रसुवाली जनताहरु लड्ने उद्घोष गर्दै आफूहरु कम्पनीको छवीलाई बचाउन लागिपरेको बताए । उनीहरले रसुवाली जनताहरुले शान्तिपूर्ण आन्दोलन गरिरहेको वेला आन्दोलनकारीहरुलाई जबरजस्ती प्रहरी हिरासतमा लिने काम गरेर जनताको विरुद्धमा गृहमन्त्री नै खनिएको आरोप लगाएका छन् ।

सवै पार्टीको सहभागीता रहेको संयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला सभापति ल्हामा कार्पु तामाङ्ले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध संचालक कुलमान घिसिङलाई हटाउने निर्णयका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिरहेको वेला राज्यले जनतालाई आतंकित बनाएर मुठभेड सिर्जना गरेको बताएका छन् ।

उनले भने–हामी सवै राजनीतिक दलको सहभागीतामा शान्तिपूर्ण रुपमा आन्दोलन भैैरहेको वेला उर्जामन्त्रालय, चिलिमे जलविद्युत कम्पनी र त्यससंग जोडिएका दलाल एवं कमिशन एजेन्टहरुले शान्तिपूर्ण आन्दोलनलाई मुडभेडतिर धकेलेका छन् । अहिले प्रहरी प्रशासनको उपस्थितिमा कथित अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेकाले हामी त्यसको विरोधमा जिल्ला जान खोज्दा हामी सरोकारवालाहरुलाई पुलिस प्रशासनले बल प्रयोग गरेको छ । हामी त्यसको घोर विरोध गर्छौं ।

त्यस्तै एकिकृत माओवादीका पूर्व सभासद प्रेम बहादुर तामाङ्ले रसुवाली जनता कुलमान घिसिङ्को पक्षमा भन्दा पनि नेपालमा हाईड्रो पावर बचाउनु पर्छ भन्ने हेतुका कारण उर्जामन्त्रालयको विरोधमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताएका छन् । तामाङ्ले सडक देखि सदनसम्म पनि यो विषयमा कुरा उठिसकेको बताउँदै यो आन्दोलनलाई छाँयामा पार्न गृहमन्त्री बामदेव गौतम लागिपरेको आरोप लगाएका छन् । उनले भने–निहत्था जनता चिलिमे बचाउने अभियानमा लागिपरिरहेको वेला गृहप्रशासन भने निरंकुशता तर्फ अघि बढेको छ । उर्जामन्त्रीले निर्णय फिर्ता लिनुपर्छ ।

तामाङ्ले आगामी भदौ ६ गतेसम्म पनि आफ्ना माँग पूरा नगरे आफूहरु रसुवा अनिश्चिकालिन बन्द गर्ने चेतावनी दिएका छन् ।
त्यस्तै नेपाली काँग्रेस रसुवाका जल स्रोत विभाग संयोजक जनकजीवन उपाध्यायले कमिशन, घुसखोरी र जलमाफियाका नाममा द्धन्द्ध नचर्काउन चेतावनी दिएका छन् । उनले रसूवामा मुठभेड निम्त्याउने काम गृहमन्त्री बामदेव गौतम र उर्जामन्त्री राधा ज्ञवालीले नै गरेको आरोप लगाउँदै प्रधानीमन्त्री सुशिल कोइरालाले तत्काल स्पष्टीकरण लिनुपर्ने बताएका छन् । उनले गृहमन्त्री बामदेव गौतमलाई कमिशन खोरीको र उर्जामन्त्री ज्ञवालीलाई जलमाफियाको आरोप समेत लगाएका छन् ।

उनीहरुले पव्लिक कम्पनीमाथिको सरकारी हस्तक्षेपको अन्त्य, तत्कालिन प्रबन्ध संचालक घिसिङको पूर्नवहाली गरिनुपर्ने, आन्दोलनकारीमाथि भएको प्रहरी दमनको अन्त्य गर्नुपर्ने, उर्जामन्त्रीले गरेका निर्णय तत्काल फिर्ता गर्नुपर्ने लगायतका माँग सहित भदौ ६ गतेबाट अनिश्चितकालिन रसुवा बन्द गर्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा संघिय गणतान्त्रिक समाजवादीका ईन्चार्ज तेम्ब्रेल तामाङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ल्हाक्पा तामाङ र राप्रपाका पोडे घलेले पनि आफ्ना भनाई राखेका छन् । उनीहरुले आफ्ना माँगको सुनुवाई नभए कडा भन्दा कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।


  •  
  •  
  •