माछा मार्ने विषयमा सेना–स्थानीय झडप

372
  •  
  •  
  •  

चितवन, ४ असार (ओएनएस) । पश्चिम चितवनको मेघौलीस्थित गोलाघाटमा माछा मार्ने विषयलाई लिएर नेपाली सेना र स्थानीयबीच झडप भएको छ । मंगलबारराति भएको झडपमा तीन सैनिक र दुई जना स्थानीय घाइते भएका छन् ।

घटनाबारे थाहा पाएपछि नियन्त्रणका लागि गएको प्रहरी टोलीमाथि समेत आक्रमण हुँदा एक जना प्रहरी घाइते भएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए । उनका अनुसार घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको भने नाम खुलाइएको छैन ।

चिवतन निकुञ्जको आसपासमा मध्यवर्ती क्षेत्रका मानिसहरुले नदीमा माछा मार्ने गर्दछन् । सो क्षेत्रमा बिना अनुमति माछा मार्न पाइँदैन । माछा मार्ने विषयमा विवाद भएको भनिए पनि यकीन कारणबारे भने जानकारी आइनसकेको प्रहरीले जनाएको छ । सो झडपपछि स्थानीयले नेपाली सेनाको गाडीसमेत नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।


  •  
  •  
  •