काठमाडौं ६ असार (ओएनएस) घुस लिदा लिदै गाविस सचिव पक्राउ परेका छन् । काभ्रे जिल्ला,बनेपा नगरपालिकाका एकजना सेवाग्राहीसंग प्रोपर्टी भ्यालुएसन गराए बापत राजस्व मिलाइदिने भन्दै घुस लिदै गर्दा उनी पक्राउ परेका हुन् । राजस्व तिर्नुपर्दा निकै धेरै रकम तिर्नुपर्ने हुंदा बाहिरी रुपमा राजश्व नतिरीकन कागजात मिलाइदिन्छु भनी रकम लिदै गर्दा काठमाडौं गागलफेदी गाविसका सचिव तेजराज अर्याल काठमाडौ.को अनामनगरबाट पक्राउ परेका हुन् ।
गाविसको खाली लेटरप्याड र स्ट्याम्प ल्याई अनामनगर, काठमाडौंस्थित शिखर फुडल्याण्डमा निज सेवाग्राहीलाई बोलाई १५ हजार घूस रिसवत लिई खाली प्याडमा सहीछाप गरी बांकी विवरण आवश्यकतानुसार सेवाग्राही स्वयंले नै भर्ने गरी कागज तथा रकम लिने–दिने गर्दा गर्दैको अवस्थामा आयोगको विशेष टोलीले पक्राउ गरेको सहायक प्रवक्ता केशव घिमिरेले जानकारी दिए ।उनलाई पक्राउगरी हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ९३० बमोजिम उनलाई तत्काल पदबाट निलम्बन गर्न स्थानीय विकास अधिकारीलाई लेखी पठाइएको छ।