काठमाडौं ।
साधारणतया सर्वसाधारण व्यक्तिलाई कुनै अपराधमा मुद्दा चलाउनु पूर्व प्रहरीले अनेकौ कोणबाट अनुसन्धान गर्ने प्रयास गर्छ । तर फसाउने नियतमा कुनै व्यक्तिले पोलेको आधारमा प्रहरीले छापा मार्दा सिरहामा एक निर्दोष युवकले दु:ख पाएका छन् ।
प्रहरीले विशेष सूचना पाएपछि धनगढीमाई नगरपालिका- १४ स्थित विष्णुपुरकट्टीका बण्ठा भनिने रामउद्गार महतोको घरमा गत चैत १४ गते साँझ प्रहरीले एक्कासी छापा मार्यो । छापामारीको क्रममा घरको बाहिरपट्टी रहेको भान्सा कोठाको टिनको छानाको पालिमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र सोमा लागेको एक थान गोली बरामद गर्यो ।
गाँजा व्यापारमा संलग्न महतोलाई त प्रहरीले त्यसबेला भेटेन तर घरमै रहेका उनका १९ वर्षका छोरा जितेन्द्रलाई पक्राउ गर्यो । पछि हातहतियार तथा खरखजाना मुद्दामा समेत आरोपित बनायो । घटनालाई सफलता मान्दै प्रहरीले स्थानीय सञ्चारकर्मीमाझ सार्वजनिक गर्यो । तर प्रहरी त्यतिबेला चकित भयो जब विराटनगरस्थित शिक्षाद्वीप उच्चमाविमा जीव विज्ञान अध्ययनरत महतोको चरित्र राम्रो भएको दावी गरी उनीसम्बन्धको घटनामा थप र तथ्यपूर्ण अनुसन्धान गर्न अनुरोध गर्दै गाउँका भद्रभलाद्मी इलाका प्रहरी कार्यालय पुगे ।
सबैतिरबाट पुन: अनुसन्धान गर्न अनुरोध आएपछि प्रहरीले त्यसै गर्यो । विशेष सूचनाको आधारमा छापामारी बरामद गरिएको पेस्तोल र गोली जितेन्द्र वा उनका बुबा रामउद्गार महतोले राखेको नभई उनीहरुलाई फसाउने नियतले सूचना दिने व्यक्तिले नै राखेको अनुसन्धानक्रममा प्रहरीले पत्ता लगायो ।
घटनाको योजना
वास्तविक तथ्य थाहा पाएपछि प्रहरीले आफूले गरेको भूल स्वीकार गर्दै सूचना दिने व्यक्ति विष्णुपुरकट्टीकै हरेराम यादवलाई पक्राउ गर्यो । हरेरामको पक्राउपछि प्रहरीको अनुसन्धानको दायरा सााघुरिदै गयो र प्रहरीले रामपृ्रत राम, तेजीनारायण यादव र राजबीर रामलाई समेत पक्राऊ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजकुमार केसीका अनुसार, गाँजा कारोबारी बण्ठा भनिने रामउद्गार महतोसँग स्थानीय सुरेश महतो र रामप्रित रामको धेरै वर्षदेखि व्यक्तिगत शत्रुता रहदै आएको थियो । सोही कारण महतोलाई फसाउन सुरेश र रामप्रितले महतोको घरमा हतियार राख्न हरेरामलाई उक्त कटुवा पेस्तोल दिएका थिए । हरेरामले समेत हतियार महतोको घरमा तेजीनारायण यादवलाई दिएपछि तेजीनारायणले धुर्मुस भनिने रामेश्वर महतो र राजबीर यादवको साथमा उक्त हतियार महतोको घर अगाडि रहेको भान्साघरमा राखेका थिए ।
तेजीनारायणले उक्त हतियार महतोको घरमा राखेपछि सबै कुरा लुकाएर हरेरामले ‘रामउदगार महतोको घरमा हतियार लुकाएर राखेको’ सूचना लहान प्रहरीलाई दिए । सोही सूचनाको आधारमा प्रहरीले महतोको घरमा हतियार भेटेपछि घरमा रहेको महतोको छोरा जितेन्द्रलाई पक्राऊ गरेको थियो ।
‘सुरुमा प्रहरीले हतियार भेटेपछि घरमा रहेका एक्ला पुरुष जितेन्द्रलाई पक्राऊ गरेर उनैलाई आरोपित बनाएको थियो’, लहान प्रहरी प्रमुख डिएसपी केसीले भने ‘तर जितेन्द्रको बारेमा अनुसन्धान गर्न चारैतर्फबाट अनुरोध आएपछि हामीले अनुसन्धान पुन: नयाँ शिराबाट सुरु गर्यौं र एक निर्दोषलाई दोषी बनाउनबाट जोगायौं ।’
विद्यार्थी जितेन्द्र महतोका बुबा रामउद्गार महतोविरुद्ध जिल्ला अदालत सप्तरीमा अवैद्य लागु औषध गाँजाको मुद्दा चलिरहँदा उनलाई सप्तरी प्रहरीले फरार प्रतिवादीको रुपमा खोजी गरेको थियो । खोजीकै क्रममा रामउद्गारको स्थायी घर सिरहा विष्णुपुरकट्टी रहेका उनलाई सिरहा प्रहरीले पक्राऊ गर्न सम्पूर्ण संयन्त्र परिचालन गरेको थियो । प्रहरी खोजीको सूचना पाएपछि रामउद्गार आफैंले अदालतमा आत्मसमर्पण गरेपछि त्यहाँबाट धरौटीमा छुटेका थिए । तर थप अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिरहाले पुन: रामउद्गारलाई पक्राऊ गरी केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ ।
कान्तिपुरबाट