सिरहा, ३० कार्तिक (ओएनएस) :
सिरहा सप्तरीमा केही समय रोकिएको अपहरण र हत्या घटनाहरु फेरी दोहिरिन थालेका छन् । विगत दुई महिना देखि महिला हत्याका घटना निरन्तर देखिएका सिरहा, सप्तरीमा गएराति अपहरणका घटना भएका छन् । सिरहाको लहान नगरपालिका वडा नम्बर ३ निवासी बर्ष ३५ का गुरुदयाल महतो अपहरणमा परेका छन् ।
महतो सप्तरीको कडरबोना बजार नजिकको एक पुलबाट अपहरणमा परेको परिवार जनले बताएका छन् । आफ्नो निजी गाडी भाडा लगाउने र गाडी समेत आफै चलाउने महतो शनिवार लहानबाट गाडीमा मान्छे लिएर इटहरी गएको र इटहरीबाट फेरी मान्छे लिएर फर्किने क्रममा राति ९ बजेबाट सम्पर्क विहीन भएको उनका दाजु शिवदयाल महतोले बताए ।
उनले गाडी बिच सडकमा रहेको अवस्थामा अर्को गाडी चालकले गाडी नम्बर देखेर चालकलाई सम्पर्क गर्न खोजेको र नभेटेपछि घरमा खवर गर्दा आफूले प्रहरीलाई खवर गरेको बताए ।
दाजु शिवदयाल महतोले भाईको जीवन रक्षाको लागि पहल गरिदिनुहुन संचारकर्मी र अधिकारकर्मीलाई आग्रह गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय लहानले महतोको खोजी भइरहेको बताएको छ ।