मुद्दा मिलाई दिने वहानामा पैसा असुल्ने पाँच जना पक्राउ

67
  •  
  •  
  •  

काठमाडौं, भदौ १७ (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा मिलाइदिन्छु भन्दै पैसा उठाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । उनीहरुलाई आफ्नो टोलीले रंगेहात पक्रेको अख्तियारले जनाएको छ ।

काठमाडौंको दरबारमार्गस्थित रोयल साइनो रेष्टुरेण्टबाट अख्तियारको मुद्दा मिलाइदिन्छु भन्दै व्यवसायीसँग १० लाख रुपैयाँ मागेका पाँच जनालाई २ लाख रुपैयाँसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ पर्नेहरुमा माधव अधिकारी, जीवन बम, रामकुमार बस्नेत, रुपक केसी र राजु सुनार नाम गरेका व्यक्ति रहेका छन् । अख्तियारले पक्राउ पर्ने व्यक्तिहरु कुनै पेशा सम्बद्ध नभर्इ बदमास भएको बताएको छ ।

अख्तियारका अनुसार पक्राउ परेका पाँच व्यक्तिले अख्तियारको मुद्दा मिलाइदिन्छु भनेर व्यवसायीसँग १० लाख रुपैयाँ मागेका थिए । आफूसँग १० लाख रुपैयाँ मागिएको बारेमा सम्बन्धित व्यवसायीले सोमबार अख्तियारमा उजुरी दिएका थिए ।

मुद्दा मिलाइदिन्छु भनेर पैसा असुल्ने गिरोहका सदस्यलाई व्यवसायीको उजुरीका आधारमा पक्राउ गरिएको अख्तियारमा कार्यरत प्रहरीले बताएका छन् पक्राउ परेका पाँचै जनालाई भ्रष्टाचार ऐन अनुरुप कारवाही गरिने अख्तियारले जनाएको छ ।

उनीहरुबाट दुई लाख नगद समेत बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि हिरासतमा लिईएको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •