काठमाडौं, १७ असाेज (ओएनएस) : अढार्इ लाखकाे लालचमा एक विद्यार्थी सुन तस्कारीका लागि भरिया बनेपछि प्रहरीकाे फन्दामा परेका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको बालाजुबाट ५ किलो सुनसहित रसुवा जिल्लाको गोसाईकुण्ड थमानका १८ वर्षीय कक्षा १२ अध्यनरत सोम बहादुर तामाङ पक्राउ परेको जानकारी गराएको छ ।
एक केजी बराबर ५० हजार र एक वर्षको कलेज शुल्क तिर्ने सहमतिपछि उनी सुन बोकेर काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। तस्करीको ५ किलो सुन बोकेर आएका तामाङलाई परिसरको एम्बुस टोलीले बालाजुको तीनपिप्लेबाट पक्राउ गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।
तामाङसँगै सुराकी आएको र उनी पक्राउ पर्न साथ सबै सम्पर्क टुटेको प्रहरीको दाबी छ । तामाङलाई कानुनी कार्वाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने पनि परिसरका प्रमुख लामाले जानकारी दिए ।