हिमाल आरोहणका क्रममा १६ आरोहीको मृत्यु

पर्वतारोहीको चापले मात्रै मृत्यु भएको होइन् : विभाग
587
  •  
  •  
  •  

काठमाडौं, १२ जेठ(ओएनएस) : यस वर्षको हिमाल आरोहणका क्रममा १६ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

न्युयोर्क टाइम्स

आरोहण अनुमति खुल्ला भएकामध्येमा चारवटा हिमाल आरोहणका क्रममा १६ आरोहीको मृत्यु भएको हो ।
विभागका अनुसार सगरमाथा आरोहणका क्रममा ८, मकालु हिमाल आरोहणमा ४, कञ्चनजंघा हिमाल आरोहणमा ३ र ल्होत्से आरोहणमा १ जना गरी १६ आरोहीको मृत्यु भएको हो । सगरमाथा आरोहणका क्रममा दुई नेपालीको समेत मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

मृत्यु हुनेमा नेपाली आरोही ध्रुव विष्ट र गाइड नेमा तेन्जी रहेका छन् । विष्टको आरोहणका क्रममा चुचुरोमा पुग्नुअगावै हाई अल्टिच्युटका कारण विष्टको मृत्यु भएको थियो भने मकालु आरोहणका क्रममा गाइड तेन्जीको मृत्यु भएको हो ।
पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेका अनुसार विभिन्न हिमाल आरोहणका क्रममा गत वर्ष पनि धेरै आरोहीको मृत्यु भएको थियो ।

वसन्त ऋतुमा ३२ हिमालका लागि १ सय १६ आरोहण अनुमतिमार्फत ८ सय ९५ जनाले हिमाल आरोहणको अनुमति लिएका थिए । ३२ हिमाल आरोहण अनुमतिबाट मात्रै ४९ करोड ५९ लाख ८६ हजार ६ सय २२ रुपैयाँ रोयल्टी जम्मा भएको छ ।
पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ३ सय ६७ विदेशी र १४ नेपाली गरी जम्मा ३ सय ८१ जनाले आरोहण अनुमति लिएका थिए । आरोहण अनुमति लिएका पर्यटकका साथमा शेर्पा गाइड तथा भरियाहरु गरी ६ सयभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

यसैबीच विभागले सगरमाथा आरोहणका क्रममा पर्यटकको मृत्यु भएको घटना पर्वतारोहीको चापले मात्रै नरहेको स्पष्ट पारेको छ ।

उक्त क्षेत्रमा अत्यधिक चाप भएको र त्यसले गर्दा पर्वतारोहीको मृत्यु भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आउन थालेपछि पर्यटन विभागले आइतबार वक्तव्य जारी गर्दै उक्त कुराको खण्डन गरेको हो ।

विभागले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पछिल्लो अनुकूल मौसम २१ मे देखि २४ सम्म भनिए पनि २१ मे मा आरोहण योजना बनाएका अधिकांश आरोही द्रुत हावाका कारण चौथो आधार शिविरमा दुई रात बस्न बाध्य भएको अवस्थाबारे यस क्षेत्रसँग सम्बन्धित सबैलाई जानकारी रहेकै छ ।

यो समेत कारणले २२ र २३ मे मा सगरमाथाको चौथो शिविर र त्यो भन्दा माथि केही बाक्लो संख्यामा आरोहीहरु रहेको भए पनि मृत्यु भएका आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चापमात्र हो भन्ने धारणा राखी प्रचार गरिनु दुःखपूर्ण छ ।’

वक्तव्यमा हिमालहरुको आरोहण आफैँमा साहसिक, जटिल र संवेदनशील कार्य भएको हुँदा सचेतता अवलम्बन गर्दागर्दै कतिपय दुःखदायी घटनाहरु हुने गरेको जनाउँदै भनिएको छ, ‘यस्ता घटनाहरुको न्यूनीकरणका लागि सरकारी, गैरसरकारी तथा निजी व्यक्ति सबैको सामूहिक प्रयास आवश्यक हुने गर्छ । यसर्थ यस वसन्तकालीन मौसममा भएका घटनाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न घटनाहरुको वास्तविकतालाई मात्र सबैले सम्मान गर्नुहुनेछ भन्नेमा विभाग आशावादी रहेको छ ।’

नेपाल सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको जनाउँदै विभागले वक्तव्यमा खुला रहेका हिमालहरुको आरोहणका लागि पर्यटन ऐन २०३५ र पर्वतारोहण सम्बन्धी नियमावली २०५९ अन्तर्गत रहेर विभागले आरोहण अनुमति पत्र जारी गर्ने गरेको जनाइएको छ ।

विभागले यस मौसममा सगरमाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर पर्वतारोहण सम्बन्धी नियमावली २०५९को नियम २४ को पालना नगरी विभिन्न सामाजिक सञ्जाल मार्फत धारणा राख्ने वा फैलाउने गरेबाट सिर्जना भएको अवस्था वा पुराना फोटो र भिडियो राखी सगरमाथाको महत्व र गरिमालाई होच्याउने, न्यूनीकरण गर्ने मनसाय एवं दुस्प्रचारप्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पर्वतारोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्रै पहिचान गर्न सकिने विषय भएको विभागको ठम्याइ रहेको भन्दै विभागले यस्ता गम्भीर विषयप्रति आफ्ना धारणाहरु सार्वजनिक गर्नुपूर्व ध्यान दिन समेत सबैमा आग्रह गरेको छ ।

 


  •  
  •  
  •