धनगढी, ११ असोज(ओएनएस) : कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना आजदेखी ब्यारेक फर्कने भएको छ ।
टीकापुरको सुरक्षा स्थिति सामान्य हुँदै गएपछि स्थानीय प्रशासनको अनुरोधमा सेना व्यारेक फिर्ता गर्न लागिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
टीकापुरमा गएको भदौ ७ गते आठ प्रहरी र एक बालकको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले टीकापुर नगरपालिका, भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्नुका साथै दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सेना खटाएको थियो ।
जिल्ला प्रशासन कार्यालयले हिजो विज्ञप्ति जारी गरी शान्ति सुरक्षाको लागि भन्दै खटिएको सेनाको स्थिति सामान्य भएकाले फर्किन लागेको उल्लेख गरेको छ । त्यस्तै, टीकापुरमा जारी निषेधाज्ञा पनि आज बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि हटाइएको भएपनि निषेधित क्षेत्र भने यथावत रहेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिअनुसार निषेधित क्षेत्र भने सदरमुकाम धनगढीमा पनि यथावत रहनेछ ।