काठमाडौ, १८ फागुन(ओएनएस) : नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले महामन्त्री पदको उम्मदेवारी घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा केसीले वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । देउवा प्यानलको औपचारिक घोषणा बुधवार हुने समेत उनले जानकारी दिएका छन् ।
उनले आफू प्रतिष्पर्घामा उत्रिएकाले विपक्षमा उमेदवार भएपनि अब पछि नहट्ने स्पष्ट पार्दै भने, ‘मेरो ज्वाई गगन थापा वा शसांक कोइराला जो मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन यो अन्तिम निर्णय हो । अब पछि हट्ने र झुक्ने काम हुँदैन ।’ उनले थपे, ‘गगनजी जनप्रिय नेता हो, पार्टीको भविष्य हो । उहाँले यो विषयमा गंभिरतापूर्वक सोच्नु होला ।’
केसीले नेपाली काग्रेसमा ब्याप्त विरासतको राजनीति, सिण्डिकेट, विधिहिनता र सानो झुण्डको हालिमुहाली तोड्न आफू बरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलमा आएको दावी गर्दै संस्थापन पक्षको नाममा सानो गिरोहले सिंगो पार्टी कब्जा गर्न खोजेको आरोप लगाए ।
१८ वर्ष केन्द्रीय समितिमा संस्थापन पक्षबाट रहँदा समेत आफ्नो उचित मुल्याङकन नभएको भन्दै उनले भने,‘ १० औ महाधिवेशनमा ९ नवौ नम्बरमा विजयी भए, ११ औमा पाचौ नम्बरमा, १२ औमा दोस्रो नम्बरमा केन्द्रीय सदस्यमा विजयी भए, तीन वर्ष गिरिजाबाबुले मनोनयन गरेर केन्द्रीय सदस्य बनाउनु भयो । १८ वर्ष केन्द्रीय सदस्य हुँदा जम्मा १७ महिना मन्त्री भए । संस्थापन पक्षमा मेरो उचित मुल्याङकन भएन ।’
उनले आफू अझै पनि सहमतिमै नेतृत्व चयन हुनु पर्ने पक्षमा रहेको स्पष्ट पार्दै दुई मध्ये एक नेता सभापति र अर्को नेता संसदीय दलको नेता बनेर बाँकी पदमा प्रतिष्पर्घा गर्नु पर्ने धारणा राखे । यसले पार्टीभित्रको ध्रुविकरण कम गर्ने उनको विश्वास थियो ।