अर्गानिक बजारमा विदेशी कृषि बैज्ञानिक

130
  •  
  •  
  •  

काठमाडौं,  २० असार (ओएनएस) । अर्गानिक उपजको दैनिक उपभोग, स्वच्छ र स्वस्थ जीवन जिउन सहयोग भन्ने नाराका साथ काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको आएको अर्गानिक एग्रो बजारमा विभिन्न देशका कृषि वैज्ञानिकले अवलोकन गरेका छन् ।

नेपाल भ्रमणमा रहेका विभिन्न देशका एक दर्जनभन्दा बढी कृषि वैज्ञानिकले बिहीबार अर्गानिक बजारको अवलोकन गरेको एग्रो बजारका अध्यक्ष धर्मराज श्रेष्ठले जानकारी दिए । भ्रमण टोलीमा कोरिया, मंगोलिया, लाओस, श्रीलंका, फिलिपिन्स, बंगलादेश, थाइल्याण्ड र भियतनामका वैज्ञानिकको सहभागिता रहेको उनले बताए ।

बंगलादेश, थाइल्याण्ड र भियतनामका वैज्ञानिकले सहकार्य गर्र्ने बताएका छन् । उनीहरूले दुई देशबीच अर्गानिक वस्तुको उत्पादन र बजारीकरणका लागि सीप र प्रविधि आदान प्रदान गर्ने पनि बताएको अर्गानिक एग्रो बजारका प्रवक्ता विलबहादुर अधिकारीले जानकारी दिए । बंगलादेशका बैज्ञानिकहरूले आफ्नो देशको अर्गानिक बजारको अवलोकनका लागि आमन्त्रणसमेत गरेको उनले बताए ।

उनका अनुसार विषादीमुक्त खाद्य पदार्थका लागि नेपालमा पनि अर्गानिक बजारको विस्तार हुँदै गएकोमा उनीहरूले खुशी व्यक्त गर्दै आवश्यक सहयोग र सहकार्यको आश्वासन दिएका छन् ।

प्रांगारिक कृषि प्रवद्र्धन केन्द्रका अध्यक्षसमेत रहेका धर्मराज श्रेष्ठले अर्गानिक उत्पादनतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यका साथ अर्गानिक उत्पादनको बजारीकरणका लागि अर्गानिक बजार सञ्चालनमा ल्याइएको जानकारी दिए । अर्गानिक एग्रो बजारमा तरकारी, मह, हर्बल उत्पादन, च्याउ, कफी, सिस्नु, खाद्यन्नलगायत १९ वटा स्टल छन् ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादनको स्टल पनि समावेश गर्ने भएको छ । अर्गानिक बजारमा खासगरी पहाडी र उच्च हिमाली जिल्लाका उत्पादन राखिएका छन् ।


  •  
  •  
  •