बुद्धमूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

386
  •  
  •  
  •  

काठमाडौं, २७ पुस (ओएनएस) : नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले डोल्पाकाे  डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ गरेकाे छ।

शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई सीआइबीको टोलीले काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो

गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए।

शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बौद्घबाटै पक्राउ गरेको थियो ।

वडाध्यक्षको पक्राउ सम्बन्धमा जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टसँग बुझ्दा मूर्ति चोरीको आरोपमा उनी पक्राउ परेको र पक्राउ पर्ने क्रम जारी रहेकाले अनुसन्धान जारी रहेको बताए।

प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि नै चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका चार जनालाई केही दिन अगाडि मात्रै जिप्रका डोल्पामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो ।

राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्ध मूर्ति आठ वर्षअघि नै चोरी भएको भए पनि यसै वर्षको गत असोजको अन्तिम सातामात्रै स्थानीयवासीले थाहा पाएका थिए ।


  •  
  •  
  •