काठमाडौ, १८ असार (एजेन्सी) । गुगलले आफ्नो सामाजिक सञ्जाल अर्कुट बन्द गर्ने घोषणा गरेको छ । आधिकारिक अर्कुट ब्लगका अनुसार अर्कुट आगामी सेप्टेम्बर ३० देखि औपचारिक रूपमा बन्द हुनेछ ।
ब्लगका अनुसार यसपछि प्रयोगकर्ताले लग इन गर्न पाउने छैनन् । गुगल प्ले र ऐप स्टोरबाट पनि अर्कुटको ऐप्लिकेशन हटाइने छ । ब्लगमा भनिएको छ, ‘यस्तो गर्दा अहिले रहेका अर्कुट प्रयोगकर्तालाई कुनै फरक पर्ने छैन्, तर नयाँ अर्कुट एकाउण्ट भने बनाउन सकिने छैन् ।’ गुगलका अनुसार तीन महिनामा अर्कुटका प्रयोगकर्तालाई आफ्नो डाटा, पोष्ट र तस्विरहरू गुगल टेकआउटको माध्यमबाट ट्रान्सफर गर्ने सुविधा दिइने छ ।
फेसबुकभन्दा एक महिना पहिले जनवरी २००४ मा गुगलले अर्कुटको सुरूवात गरेको थियो । ब्लगका अनुसार यु–ट्युब, ब्लगर र गुगल प्लसुमा बढेको लोकप्रियतासँगै अर्कुटको लोकप्रियता भने घट्दै गएको थियो ।
गुगलका इन्जिनियरिङ डाइरेक्टर पाउलो गल्गरले भनेका छन्, ‘ुजसले अहिले पनि अर्कुट प्रयोग गरिरहेका छन्, उनीहरूसँग हामी माफी माग्छौं। हामीलाई विश्वास छ की प्रयोगकर्ताहरूले सञ्चारका लागि अन्य कुनै प्लेटफर्म प्रयोग गर्नेछन् ।’
गुगलका अनुसार अब कम्पनी यु–ट्युब, ब्लगर र गुगल प्लसजस्ता प्लेटफर्मलाई अगाडि बढाउने सोच बनाएको छ ।