‘अप्रील फूल’ मनाउन खोज्दा प्रहरीको फन्दामा

245
  •  
  •  
  •  

ओखलढुंगा, १८ चैत (ओएनएस) : अप्रील १ मा आफन्त वा साथीभाइलाई ढाँटेर रमाइलो गर्नु स्वाभाविक मानिन्छ । तर प्रहरीसँगै अप्रील फुल मनाउन खोजियो भने के होला ?

ओखलढुंगाका एक व्यक्ति जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी डम्बरबहादुर विकसँग ‘अप्रील फुल’ मनाउन खोज्दा फन्दामा परेका छन् । आज विहानै फोन गरेर ‘गाउँमा मान्छे झुण्डिएर मरेको’ खबर गर्ने पात्ले गाविसका डिकबहादुर तामाङ फन्दामा परेका हुन् ।

खबर आउनासाथ श्रीचौर प्रहरीलाई परिचालन गरेको तर पाँच घण्टा पैदल हिँडेर प्रहरी पात्ले पुग्दा कतै मान्छे झुण्डिएर मरेको नभेटिएपछि प्रहरीले डिएसपीलाई फोन आएको नम्बरमा टेलिफोन गरेर केरकार गर्दा तामाङले ‘अप्रील फुल मनाएको हजुर ।’ भन्ने जवाफ दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बैद्यनाथ यादवले बताउनुभयो ।

एकाबिहानै अप्रील फुल भनेर डिएसपीलाई ढाँट्ने र प्रहरीलाई दुःख दिने तामाङलाई पक्राउ गर्न निर्देशन दिइएको उहाँको भनाई छ । सुरक्षा र ज्यान जस्तो संवेदनशील विषयमा अप्रील फुल भन्दै अनावश्यक दुःख दिनेलाई कारवाहीको दायरामा ल्याईने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


  •  
  •  
  •