आप्रवासी कामदारको मानव अधिकार हनन् हुन नदिन अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

99
  •  
  •  
  •  

काठमाडौं । नेपालमा ‘आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ आयोजना हुने भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी उक्त सम्मेलन हुन लागेको जानकारी गराएको हो ।

आप्रवासी कामदारहरुको मानव अधिकार हनन् हुन नदिने उद्देश्यका साथ यही कार्तिक २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने आयोगले जनाएको छ ।

सम्मेलनमा आप्रवासी कामदारहरुले काम गरिरहेका मुलुकका सरकारका प्रतिनिधिहरु, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारको क्षेत्रका कार्यरत अन्तराष्ट्रिय संघ, संस्था र सामाजिक संघ, संस्थाहरुका प्रतिनिधिहरु सहभागी हुने पनि आयोगका सदस्य सुदिप पाठकले जानकारी दिए ।

आयोगले अन्तर्राष्ट्रिय सम्मेलनबाट आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा दक्षिण एसिया तथा एसिया प्रशान्त क्षेत्रका मुलुकहरु जिम्मेवार बन्ने अपेक्षा पनि गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने सम्मेलनमा आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणसम्बन्धी ५ वटा कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
सम्मेलनमा साउदी अरब, कुवेत, बहराईन लगायतका खाडी मुलुकहरुबाट समेत सहभागिता रहने छ ।

त्यसैगरी श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत विभिन्न सरकारी निकाय, वैदेशिक रोजगार व्यवसायी सघ, आप्रवासी कामदारको मानव अधिकार संरक्षणमा क्रियाशील गैरसरकारी संस्था, नागरिक समाज तथा विज्ञहरु सहित ४५ जना राष्ट्रिय प्रतिनिधिहरुको सहभागिता रहने छ ।


  •  
  •  
  •