‘बिरुवा बेचेरै २७ लाख आम्दानी’

321
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : स्याउको बिरुवा बिक्रीबाटै यस वर्ष जुम्लामा पौने २७ लाख रुपैंयाँ भित्रिएको छ । एक सय १० वटा फलफूल नर्सरीबाट यस वर्ष एक लाख ७ हजार बिरुवा बाहिर जिल्लामा निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

एउटा बिरुवा औसतमा २५ रुपैंयाँका दरले बिक्री भएको बरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए । जुम्लामा उत्पादन भएका स्याउका बिरुवा पाँचवटै विकास क्षेत्रमा पुग्ने गरेको उनको भनाइ छ । यस वर्ष सबैभन्दा बढी २४ हजार बिरुवा डोल्पामा निर्यात भएका छन् ।

‘स्याउ आत्मनिर्भर कार्यक्रम लागु भएपछि कर्णालीका पाँचवटै जिल्लामा स्याउ बगैंचा बिस्तार भैरहेका छन् ।’ बरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले थपे, ‘यस वर्ष कणालीका ४ जिल्लामा ४० हजार बिरुवा निर्यात भएका छन् । जिल्लाभित्रै उत्पादन हुने भए पनि जुम्लाबाट डोल्पामा २४ हजार, मुगुमा ७ हजार ५ सय, कालिकोटमा ४ हजार ५ सय र हुम्लामा ४ हजार बिरुवा निर्यात भएका हुन् ।’

कलमी प्रविधिबाट जुम्लामा उत्पादन भएका बिरुवा पूर्वाञ्चलको सोलेखुम्बु र सुदुरपश्चिमको दार्चुलासम्म पुगेको योजना अधिकृत तथा सूचना अधिकारी बालकराम देवकोटाले बताए । उनले भने, ‘जिल्ला कृषि विकास कार्यालयको सिफारिस लिएर मात्रै बिरुवा लैजान पाउने व्यबस्था गरेका छौं । पूर्वाञ्चलको सोलुखुम्बुमा यस वर्ष २ हजार बिरुवा पुगेका छन् । सुदुरपश्चिमको दार्चुलामा पनि ५ हजार ५ सय बिरुवा पुगेका छन् ।’

नर्सरी धनीले एउटा बिरुवा बिक्रीबाट २० देखि ३० रुपैंयाँसम्म आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । नर्सरी धनीले जिल्लाभित्रैका किसानलाई बिक्री गरेर गरेको आम्दानी यसमा नजोडिएको योजना अधिकृत बालकराम देवकोटाको भनाइ छ । यस वर्ष २० हजार बिरुवा बिक्री गरेर चन्दननाथ नगरपालिका वडा नम्बर १३ का अमरबहादुर रावतले झण्डै ५ लाख रुपैंयाँ आम्दानी गरेका छन् ।

‘सत्रखम्बा फलफूल नर्सरीबाट हरेक वर्ष झण्डै ४० हजार स्याउका बिरुवा उत्पादन हुने गरेका छन् । जिल्ला बाहिर २० हजार बिरुवा बिक्री हुँदा खुसी लागेको छ ।’ रावत थप्छन्, ‘दर्ता नभएका किसानले पनि बिरुवा बिक्री गरेका कारण समस्या भएको छ । बिरुवा उत्पादनका लागि दर्ता भएका नर्सरीबाट मात्रै बिरुवा किन्ने हो भने गुणस्तरीय बिरुवा पनि पाउँछन् र नर्सरी धनीलाई राम्रो आम्दानी पनि हुन्थ्यो ।’

बाजुरामा १३ हजार २ सय, जाजरकोटमा १२ हजार, मनाङमा ६ हजार ५ सय, मुस्ताङमा ४ हजार ५ सय, सिन्धुपाल्चोका एक हजार ८०, रोल्पामा २ हजार २ सय र बाँकी अरु जिल्लामा निर्यात भएको छ । नर्सरी धनीबाट खरिद गरी स्याउ आत्मनिर्भर कार्यक्रम अन्तर्गत ३० हजार र जिल्ला विकास समिति अन्तर्गतको आरसीआइडब्लु कार्यक्रम अन्तर्गत २४ हजार तथा जिल्ला भू संरक्षण कार्यालयले १८ हजार स्याउका बिरुवा वितरण गरेको योजना अधिकृत देवकोटाले बताए ।

उनले भने, ‘जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, मुगु, मनाङ र मुस्ताङमा ‘स्याउ आत्मनिर्भर कार्यक्रम लागु भएको छ । व्यावसायिक स्याउ किसान वा समूहलाई बिरुवा खरिदमा ५० प्रतिशत र बगैंचा व्यवस्थापनमा प्रतिबोट सय रुपैयाँका दरले तीन वर्षसम्म अनुदान दिने गरिएको छ ।’

१५ औं जिल्ला परिषद्बाट निर्णय भई एक घर, एक स्याउ बगैंचा अभियान सुरु भएयता जुम्लामा बर्सेनि सय हेक्टर क्षेत्र थपिँदै गएको छ । कृषि कार्यालयका अनुसार, यहाँका ३० वटै गाविसका १५ हजार भन्दाबढी परिवारले झण्डै ३ हजार हेक्टर क्षेत्रमा स्याउ लगाएका छन् ।

जुम्लामा फलफूल विकास निर्देशनालयद्वारा आधिकारिकता प्रदान गरेका एक सय १० वटा नर्सरीले व्यावसायिक रुपमा बिरुवा उत्पादन गरिरहेका छन् । यस वर्ष तीन लाख भन्दाबढी बिरुवा उत्पादन गरेका नर्सरी धनीले झण्डै एक तिहाइ बिरुवा बिक्री नभएको भन्दै बजार व्यबस्थापन गरिदिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।


  •  
  •  
  •