सशस्त्रलाई पक्राउ गर्ने अधिकार नदिन निर्देशन

72
  •  
  •  
  •  

काठमाडौ, ११ असार(ओएनएस) : व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले क्षेत्र अधिकारको विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद चर्किएपछि गृहमन्त्री बामदेव गौतमसँग सोधपुछ गरेको छ ।

सोधपुछपछि समितिले सशस्त्र प्रहरीलाई पक्राउ पूर्जी जारी गर्ने अधिकार नदिन सरकारलाई निर्देशन दिएको छ। सिमितले सशस्त्रलाई पक्राउ गर्ने अधिकार दिँदा दुई प्रहरीबीच क्षेत्रधिकारको विषयमा झनै विवाद चर्कने भन्दै सशस्त्रलाई अधिकार नदिन भनेको हो । समितिले क्षेत्राधिकारको विषयमा तत्कालको लागि कुनै निर्णय नगर्न भनेको छ ।

सशस्त्रले आफ्नो नियमावली संसोधन गर्दै अनुसन्धानको लागि पक्राउ गर्न सक्ने व्यवस्था थप्न खोजेपछि नेपाल प्रहरीले चर्को विरोध गरेको थियो । सशस्त्रले अधिकार पाउन लविङ र आफ्नो वेभ साइटमा समेत प्रचार गरेपछि नेपाल प्रहरीले गृहमा उजुरी समेत हालेको थियो ।

बैठकमा धारणा राखेका संसदहरुले सशस्त्रलाई पक्राउको अधिकार दिँदा दुई प्रहरीबीच विवाद बढ्ने भएकोले प्रहरीलाई मात्र पक्राउको अधिकार हुनुपर्ने धारणा राखेका थिए ।

बैठकमा गृहमन्त्री बामदेव गौतमले भने सशस्त्रको विधान संशोधनको विषयमा घुमाउरो पारामा समर्थन गर्दै दुई सुरक्षा निकायबीचको विवाद धेरै ठूलो नरहेको बताए। नियमावलीमा उल्लेख भएको ‘अपराध अनुसन्धानका लागि पक्राउ पूर्जी’ भन्ने बाक्यमा नेपाल प्रहरीको माग अनुसार नियमावलीबाट अपराध अनुसन्धान हटाउन सकिने बताए । उनले यस्तो गर्दा सशस्त्रले पक्राउ गरी अनुसन्धानको लागि प्रहरीलाई बुझाउन सक्ने बताए ।


  •  
  •  
  •