सशस्त्र प्रहरी बलद्वारा ३ वटा नि:शुल्क बस थप

1256
  •  
  •  
  •  

apf bus service (1)काठमाडौं, ३० मंसिर(ओएनएस) : बिरामी तथा जेष्ठ नागरिक एवं अपाङ्गहरुलाई प्राथमिकता दिँदै यातायातको असुविधामा परेका सर्वसाधारणलाई लक्ष्यीत गरेर तीन वटा निःशुल्क बस सेवा संचालन गरेको सशस्त्र प्रहरी बलले यात्रुको चापलाई ध्यानमा राखेर थप बस संचालनमा ल्याएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीनवटा रुटमा छुट्टाछुट्टै तीन बसबाट निःशुल्क सेवा प्रदान गरेकोमा यात्रुको चाप देखिएपछि सो कार्यालयको स्टाफ बस तथा नेपाल एपीएफ अस्पताल र स्कूलको बस समेत थप गरी सेवा प्रदान गर्न सुरु गरेको हो ।

स्टाफ बसले आफ्ना कर्मचारीलाई गन्तव्यमा पुर्‍याएपछि फर्किने बेलामा बाटोमा रहेका यात्रुहरुलाई सेवा प्रदान गर्नेछ भने कर्मचारी लिन जाँदा बाटोमा रहेका यात्रुहरुलाई समेत सेवा प्रदान गर्नेछ । हाल यात्रुहरुमा परेको असुविधालाई ध्यानमा राखेर सशस्त्र प्रहरी बलले सक्दो सेवा प्रदान गर्न हाललाई यो व्यवस्था गरेको हो ।

यसअघि विहीबार भाई टिकाका दिन दिउँसो विभिन्न बस स्टपहरुमा यात्रुको चाप रहेको भनि सशस्त्र प्रहरी बलको हटलाइन सेवा फोन नम्बर १११४ मा अलपत्र यात्रुले खबर गरेपछि त्यसदिन थप बस संचालन गरी सेवा प्रदान गरिएको थियो । यी सबै बसहरुले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुलाई समेट्ने गरी निःशुल्क सेवा प्रदान गर्ने छन् । यी सबै बसहरुले विरामी तथा जेष्ठ नागरिक एवं अपाङ्गहरुलाई प्राथमिकता दिनेछन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय तथा सो स्कुल र अस्पतालको स्टाफ बसले आफु गुड्ने बाटोमा रहेका यात्रुहरुलाई सेवा प्रदान गर्नेछ भने प्रधान कार्यालयको अन्य तीन वटा बसले राति अवेरसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुलाई समेट्ने गरी सेवा प्रदान गर्ने छ ।

apf bus service (2)बस सेवा संचालन गर्दा यात्रुहरुको बढि भिडभाड हुने ठाउँलाई लक्ष्यीत गर्दै शहरको मूल बाटोमा सेवा प्रदान गर्ने छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट निस्कने एउटा बसले स्वयम्भुबाट कलंकी हुँदै चक्रपथ घुमेर स्वयम्भुसम्म नै यात्रुहरुलाई सेवा प्रदान गर्ने छ भने अर्को बसले स्वयम्भुबाट बालाजु हुँदै चक्रपथ घुमेर स्वयम्भुसम्म नै सेवा प्रदान गर्ने छ ।

यसैगरी बलको प्रधान कार्यालयकै अर्को बसले बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सोही रुटबाट स्वयम्भुसम्म नै यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।

यसैगरी सशस्त्र प्रहरी बल प्रधान कार्यालय, नेपाल एपीएफ अस्पताल र स्कुलका बसहरु मध्ये दुई वटा बस स्वयम्भुबाट विहान आठ बजे निस्कने तथा उक्त बसले बालाजु, गंगबु, महाराजगंज चक्रपथ हुँदै चाबहिलसम्म यात्रुहरुलाई सेवा प्रदान गर्ने छ भने विहान आठ बजे नै निस्कने अर्को एउटा बसले स्वयम्भुबाट कलंकी, बल्खु, एकान्तकुना, सातदोवाटो, ग्वार्को हुँदै कोटेश्वरसम्म सेवा पुर्‍याउने छ ।

यस्तै, अपरान्ह पाँच बजे चाबहिलबाट गुड्ने एपीएफको एउटा बसले गौशाला, सिनामंगल, पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, हात्तीसार, केशर महल, लैनचौर, बालाजु हुँदै हल्चोक स्वयम्भुसम्म यात्रुहरुलाई सेवा प्रदान गर्नेछ ।

यस्तै अर्को बसले अपरान्ह पाँच बजे कोटेश्वरबाट गुडेर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, कालीमाटी कलंकी हुँदै हल्चोक स्वयम्भुसम्म यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ ।


  •  
  •  
  •