मेसमा सुधार गर्दै सशस्त्र प्रहरीले भन्यो : रासन खुवाउने हो, बचाउने होइन

197
  •  
  •  
  •  

काठमाडौ, २७ माघ (ओएनएस)  : सशस्त्र प्रहरी वलले आफ्नो देशभरका एपीएफ इकाईहरुका मेसमा पाक्ने खानाको स्तरमा यस महिनादेखि प्रसस्त सुधार गरी उत्कृष्ट खानाको व्यवस्था गरेको छ । माघ महिनाबाट लागू हुने गरी ठेकेदार प्रणालीको अन्त्य भई मेस संचालनका लागि लागत अनुमान बराबरको रकमनै प्राप्त भएपछि सशस्त्र प्रहरी बलले उक्त रकमबाट देशभरका एपीएफ इकाईमा पाक्ने खानाको स्तरमा व्यापक सुधार गरेको हो ।
सशस्त्र प्रहरी बलले हरेक एपीएफ इकाईमा विहान तथा दिउँसोको खाजासहित क्यालोरीयुक्त उत्कृष्ट खानाको व्यवस्था गरेको छ ।

हरेक एपीएफ इकाईले मातहत एपीएफ अधिकृत तथा जवानहरुलाई उत्कृष्ट खानेकुरा नखुवाई रासन वचत गर्नेतिर लागेमा सम्बन्धित एपीएफ इकाईका प्रमुखलाई आवश्यक कारवाही गरिने कुरा वलको प्रधान कार्यलयले मातहतलाई स्पष्ट पारेको छ ।

मातहतलाई निर्देशन दिँदै बलको प्रधान कार्यालयले रासन खुवाउने हो, बचाउने होइन भनि प्रष्ट पारेको छ । रासन वापत रकम निकासा हुने व्यवस्थासँगै बलको प्रधान कार्यालयले मातहत सम्पूर्ण एपीएफ इकाईसँग सुझाव लिँदै ‘मेस संचालन कार्यविधि–२०७१’ बनाई सो बमोजिम उत्कृष्ट खानाको व्यवस्था मिलाउन मातहतलाई निर्देशित गरेको छ ।

यसै महिनादेखि विहान तथा दिउँसो खाजाको व्यवस्था मिलाएको सशस्त्र प्रहरी बलले सम्पूर्ण सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुका लागि खानामा राम्रो तथा मसिनो चामलसँगै दाल, भात, तरकारी, अचार, सागसब्जी लगाएत हप्तामा कम्तीमा तीनपटक खसीको मासु तथा एक पटक कुखुराको मासु, एक पल्ट अण्डाकरी लगाएतको विभिन्न खानेकुरा खुवाउने व्यवस्था मिलाएको छ । साकाहारीहरुका लागि भने दुध, फलफुलको व्यवस्था मिलाइएको छ ।

विगतमा ठेक्काको माध्यमबाट रासन प्राप्त हुने गरेकोमा यस माघ महिनादेखि ठेक्का प्रणाली अन्त्य भई मेस संचालनका लागि रकम प्राप्त हुने व्यवस्था भएको हो । यससँगै सशस्त्र प्रहरी बलको सम्पूर्ण मेसहरुमा स्तरीय चामलका साथै उत्कृष्ट खाना सम्पूर्ण सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुका लागि एकैस्तरको बनाइएको छ । हाल उत्कृष्ट चामलको भातसँगै खानाका विभिन्न परिकारहरु हरेक एपीएफ इकाईले आफ्ना सवै तहका सशस्त्र प्रहरी कर्मचारीहरुका लागि एकैस्तरको बनाएको छ ।

एपीएफ इकाईहरुको मेसहरुमा उत्कृष्ट खाना पाकेनपाकेको अनुगमन गर्ने व्यवस्था समेत सशस्त्र प्रहरी बलले मिलाएको छ । पहिलो चरणमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको कमाण्डमा एपीएफ इकाईका मेसहरु अनुगमन गर्ने तथा यस टोलीले उत्कृष्ट खाना नपाकेको पाएमा तत्काल सुधार गर्नुपर्ने कुराहरु औल्याएर सुधार गर्नका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयको तर्फबाट ‘फिल्ड’ मै निर्देशन दिने व्यवस्था सशस्त्र प्रहरी बलले गरेको छ ।

सशस्त्र प्रहरी बलले दोश्रो चरणमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित व्यावसायीक तथा गुणस्तर निर्धारण निर्देशनालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा अनुगमन टोली खटाउने छ । यस टोलीले निरीक्षण गर्दा खानाको स्तर उत्कृष्ट नपाइएमा सो इकाईका प्रमुख समेतलाई तत्काल विभागीय कारवाहीको प्रकृया सुरु गर्ने व्यवस्था सशस्त्र प्रहरी बलले मिलाएको छ ।


  •  
  •  
  •