सशस्त्रमा अवकाश अवधि दुई वर्ष रहेकालाई चाहेको स्थान सरुवा गरिने

201
  •  
  •  
  •  

काठमाडौ, ७ बैशाख (ओएनएस) :  सशस्त्र प्रहरी बलले सेवा अवधि दुईवर्ष भन्दा कम रहेका सिनियर अधिकृतसहितका आफ्ना राष्ट्रसेवकहरुलाई घर व्यवहार मिलाउन सजिलो होस भन्ने अभिप्रायले घरपायक सरुवा गर्ने व्यवस्था गरेको छ ।

बलले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देखि तल्लो तहसम्मका आफ्ना सवै राष्ट्रसेवकलाई उसको सेवा समाप्तीको पछिल्लो समयमा संभव भएसम्म चाहेको घरपायक जिल्लामा सरुवा गरिदिने नयाँ व्यवस्था गरेको हो ।

बलले अनिवार्य अवकाश हुन लागेकाहरुलाई चाहेको जिल्ला वा क्षेत्रमा सरुवा मिलाउदा सेवाकालमा ड्युटीको शिलशीलामा लामो अवधिसम्म घर बाहिर रहेका राष्ट्रसेवकहरुले घर व्यवहार मिलाउन सजिलो हुने विश्वास लिएको छ ।

सशस्त्र प्रहरी बलले आफ्नो कल्याणकारी कार्य अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सुविधा पु-याउने अभिप्रायले यो नयाँ व्यवस्था गरेको हो । पेशागत जीवनमा झण्डै तीन दशक लामो अवधि विताउँदा सशस्त्र प्रहरी कर्मचारीहरु घर परिवारबाट टाढा रही आफ्नो जिम्मेवारी निर्वाहमा समर्पित रहेका हुन्छन् ।

उनीहरुका विभिन्न पक्षसँगै घरायसी समस्यालाई समेत नजिकबाट नियाल्दै घरपायक सरुवा भई कामकाज गर्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको हो । सरुवाको समयमा बलको प्रधान कार्यालयले अवकास नजिकका सशस्त्र प्रहरी कर्मचारीलाई आफ्नै सकृयतामा सम्पर्क गरी सरुवाको अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

आगामी २०७३ सालसम्म सशस्त्र प्रहरी उपरीक्षक (एसपी), सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षक गरी ३७ जना तथा सो भन्दा तल्लो तहका केही राष्ट्रसेवकहरुले स–सम्मान अनिवार्य अवकाश प्राप्त गर्दै छन् ।

सशस्त्र प्रहरी बलमा हाल श्रीमान श्रीमतीनै सेवारत भएमा सम्भव भएसम्म एउटै कार्यालय वा नजिकको अर्को कार्यालयमा दरबन्दी कायम गरिदिने गरिएको छ । यसैगरी जवान तहलाई सम्भव भएसम्म उसले खोजेको घरपायक क्षेत्रमा सरुवा गर्ने गरिएको छ ।

सशस्त्र प्रहरी बलले अवकास नजिक रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इच्छाएको ठाउँमा सरुवा गरिदिँदा उनीहरुको मनोवल उच्च रहने विश्वास लिएको छ ।


  •  
  •  
  •