सशस्त्र प्रहरी महानिरीक्षक वन्त दिए एफपीयु प्री डिप्लोयमेन्ट तालिमको अन्तिम प्रवचन 

270
  •  
  •  
  •  

काठमाडौं ।  संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन लाइवेरियामा फम्र्ड पुलिस युनिट (एफपीयु)को रुपमा खटिने एपीएफ टोलीको लागि संचालित एफपीयु प्री डिप्लोयमेन्ट तालिम समाप्त भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले विहीबार सशस्त्र प्रहरी बल प्रधान कार्यायलमा आयोजित एक कार्यक्रमका वीच सो तालिमको अन्तिम प्रवचन दिए  ।

सशस्त्र प्रहरी महानिरीक्षक वन्तले सो अवसरमा एफपीयु मिसन छनोट निर्देशिका बमोजिम छनोट भएको सो टोलीले खटिएको मिसनमा सफलताका साथ जिम्मेवारी पुरा गर्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक वन्तले मिसनमा पुरा गर्नुपर्ने जिम्मेवारीका सम्बन्धमा आवश्यक प्रशिक्षण दिइएको उल्लेख गर्दै मिसनमा खटिएपछि विभिन्न देशका सुरक्षाकर्मी सँग सहकार्य गरी देश र संगठनको नाम उच्च हुने ढंगले पेशागत जिम्मेवारी निर्वाहमा समर्पित रहनुपर्ने बताए ।

उहाँले मिसन इलाकामा कानुन सम्मत ढंगले दायित्व निर्वाह गर्न निर्देशन समेत दिए।

संगठनले हासिल गरेको सफलताबारे चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले संगठनको उपलब्धीका लागि सधँै सामुहिक भावनाका साथ कार्य गरिरहनु पर्ने कुरा समेत उल्लेख गरे ।

सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक चिरञ्जीवी अधिकारीले प्रशिक्षार्थीहरुलाई मिसन इलाकाको भौगोलिक अवस्थादेखि त्यहाँ गर्नुपर्ने कार्यका सम्बन्धमा विस्तृत रुपमा प्रशिक्षण दिइएको उल्लेख गर्दै मिसन इलाकामा प्रशिक्षार्थीहरुले उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।

सो तालीम केन्द्रमा संचालित करीव आठ हप्ता अवधिको उक्त तालीममा एपीएफ अधिकृत तथा जवान गरी कूल २६० जना सहभागि रहेका थिए । ती मध्ये १४० जना लाइवेरीयाको टुम्मनवर्गमा तथा १२० जना लाइवेरीयाकै मोन्रोभियामा खटिने छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा लगाएत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थित रहेको थियो ।


  •  
  •  
  •