सशस्त्र प्रहरी बललाई स्टाफ कलेज संचालनको स्वीकृती

218
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (ओएनएस) :  सशस्त्र प्रहरी बलले फौजी संगठनमा व्यावशायीक प्रशिक्षणका लागि महत्वपूर्ण मानिने स्टाफ कलेज संचालनका लागि स्वीकृती प्राप्त गरेको छ । स्टाफ कलेजलाई विश्वकै सुरक्षा निकायमा उपल्लो स्तरको प्रशिक्षण संस्थाको रुपमा लिइन्छ ।

स्टाफ कलेज संचालनको स्वीकृती पाएसँगै सशस्त्र प्रहरी बलले अन्तर्राष्ट्रियस्तरको ‘कमाण्ड तथा स्टाफ तालिम’ संचालन गर्ने भएको छ । यस तालिमपछि प्रशिक्षार्थीहरुले त्रिभुवन विश्वविद्यालयको मानविकि तथा सामाजिकशास्त्र संकाय अन्तर्गत सुरक्षा विकास तथा शान्ति अध्ययन बिषयमा स्नातकोत्तरको उपाधि समेत प्राप्त गर्नेछन् । शैक्षिक उपाधिका लागि त्रिभुवन विश्वविद्यालयले स्वीकृती समेत दिइसकेको छ ।

तालिम संचालनका लागि सशस्त्र प्रहरी बलले प्रशिक्षार्थी छनोट गर्ने मापदण्ड तय गर्दै प्रवेश परिक्षा सम्बन्धि कार्यविधि समेत तयार गरेको छ । तालिमको अवधि करीब डेढ वर्ष रहेको सो तालिममा एक पटकमा बढीमा ४० जनासम्म प्रशिक्षार्थीहरु सहभागि रहने छन् । सशस्त्र प्रहरी बलले भविष्यमा अन्य देशका अर्धसैनिक प्रकृतिका सुरक्षा संगठनका अधिकृतहरुलाई समेत यस तालिममा सहभागि गराउने लक्ष्य लिएको छ ।

स्टाफ कलेज संचालनका लागि करीब नौ महिना अघिदेखि गृहकार्य थालेको सशस्त्र प्रहरी बलले स्टाफ कलेज स्थापनाको स्वीकृती प्राप्त गरेसँगै तालिम संचालनको तयारी गरेको छ । तालिमको लागि तयार गरिएको पाठ्यक्रमलाई त्रिभुवन विश्वविद्यलयले अहिले सम्मका उत्कृष्ट पाठ्यक्रम मध्ये एक भएको बताएको छ ।

खुल्ला प्रतियोगिताबाट सेवा प्रवेश गरी सशस्त्र प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका अधिकृतहरुका लागि संचालन गरिने यो तालिम सशस्त्र प्रहरी बलमा संचालन हुने सवैभन्दा उपल्लो स्तरको तालिम हुनेछ । अन्तर्राष्ट्रियस्तरको व्यावशायीक अधिकृत उत्पादन हुन यस तालिम महत्वपूर्ण रहने बुझाई सशस्त्र प्रहरी बलको छ ।

यस तालिम र तालिमको लागि प्रवेश परिक्षा अंग्रेजी माध्यममा हुनेछ । तालिमको प्रवेश परिक्षा संगठन बाहिरका विज्ञहरुद्वारा परिक्षा लिइने तथा परिक्षा पुस्तिका डबल कोडीङ सिष्टममा विज्ञहरुबाटै परिक्षण गरिने व्यवस्था मिलाइएको छ । उक्त तालिममा समावेश हुनाका लागि प्रवेश परिक्षामा हरेक विषयमा ५० प्रतिशत भन्दा बढि अंक ल्याउनु पर्नेछ ।

तीन पटकसम्म परिक्षामा अनुत्तिर्ण भएमा उसलाई सो तालिमको अवसरबाट बञ्चीत गरिने तथा संगठनको नीति विपरीतका गतिविधिमा संलग्न भई सजाय पाएका अधिकृतहरु प्रवेश परिक्षामै सहभागि हुन नपाउने हुँदा यस तालिमलाई विशेष महत्व र चासोका साथ हेरिएको छ । प्रवेश परिक्षामा सफल उम्मेद्वारले ‘मेरिट लिष्ट’ अनुसार तालिमको अवसर प्राप्त गर्नेछन् ।

स्टाफ कलेज संचालन पछि ‘प्रोफेसनल’ अधिकृतहरुको छिटो छरितो ढंगले बृत्ति विकास हुने तथा प्रवेश परिक्षा उत्तिर्ण हुनाका लागि फौजी ज्ञान लगाएतका विभिन्न विषयवस्तुमा बढिभन्दा बढि मेहनत र ज्ञान आर्जन गर्नुपर्ने भएको हुँदा यस तालिमले व्यावशायीक क्षमतामा बृद्धि भई संगठनले अझै बढि उपलब्धीपूर्ण योगदान पु¥याउन सफल हुने तथा एपीएफ अधिकृतहरु अध्ययनशील हुन बाध्य हुनुपर्ने हुँदा समेत यस तालिमको ठूलो महत्व रहने बुझाई सशस्त्र प्रहरी बलको छ ।

सो तालिमका लागि प्रशिक्षार्थीको नामावली संकलनदेखि प्रवेश परिक्षा संचालन, नतिजा प्रकाशन लगाएत, तालिम संचालन गर्ने सम्मका सवै काम कारवाही निश्पक्ष, विश्वसनीय र पारदर्शी ढंगले हुने छ । तीन सय अंक तोकिएको प्रवेश परिक्षामा सशस्त्र प्रहरी बलको म्याण्डेट अनुरुपको पेशागत ज्ञान, द्वन्द्व तथा शान्ति, विकासका आयामहरु, सुशासन र राज्यसंयन्त्र, सामाजिक चिन्तन सम्बन्धि विषयमा परिक्षा हुनेछ ।

सवैभन्दा बढि अध्ययन गर्नुपर्ने ‘कमाण्ड तथा स्टाफ तालिम’मा आफु मातहतका जनशक्तिलाई प्रचलित कानून बमोजिम उत्कृष्ट ढंगले परिचालनदेखि राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन तथा सुरक्षा, विपद् जोखिम न्युनिकरण, अर्धसैनिक सुरक्षा, द्वन्द्व तथा शान्ति अध्ययन, सुरक्षा व्यवस्थापन, क्षेत्रीय तथा विश्वव्यापी सुरक्षा, सुरक्षा सम्बन्धि कानून र सुरक्षाका विभिन्न चरणहरु, मानव अधिकार तथा मानवीय कानून लगाएत सुरक्षामा विभिन्न विषयमा विस्तृत प्रशिक्षण हुनेछ ।

यस तालिमबाट नेतृत्वदायी क्षमतावान तथा प्रशासनिक ज्ञान समेत भएको योग्य अधिकृत उत्पादन हुने विश्वास फौजी संगठनमा छ । यसैगरी तालिमले सुरक्षा, विकास र शान्तिको विकास क्रम तथा सम्भावित चुनौतीको अनुमान गर्न सक्ने क्षमता विकास हुनुको साथै सुुरक्षा विकास र शान्ति विचको आपसी सम्बन्ध बुझ्नसक्ने जनशक्ति समेत उत्पादन हुने हुँदा विश्वमै सुरक्षा निकायले यस तालिमलाई महत्वका साथ लिएको हुन्छ ।


  •  
  •  
  •