एपेक्स बैंकको घोटाला प्रकरण : थप तीन पक्राउ, घोटालाको आरोपमा पक्राउ पर्नेको संख्या १७ पुग्यो

378
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस) :हालको एनसीसी बैंक सँग मर्ज भएको तत्कालिन एपेक्ट डेभलपमेन्ट बैंकमा डेढ अर्ब घोटाला गरेको आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)द्धारा खटिएको प्रहरीले टोलीले तेश्रो पटक बैंकका तत्कालिन थप तीन कर्मचारीलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा उनीहरुको पनि संलग्नता देखिएकोले पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए।

पक्राउ पर्नेहरुमा सजल बज्राचार्य, प्रमोद भट्टराई र कृबेन्द्र श्रेष्ठ छन्। बज्राचार्य र श्रेष्ठ कर्जा सुपरिवेक्षक तथा भट्टराई कर्जा अधिकृतका रुपमा बैंकमा कार्यरत थिए। कमसल धितो राखी कर्जा प्रवाहमा उनीहरुले घोटाला गरेको सिआइबीले जनाएको छ।

पक्राउ परेमध्ये कृबेन्द्र जनता बैंकको बनेपा शाखामा कार्यरत थिए। यसअघि सिआईबीले १४ जनालाई पक्राउ गरिसकेको छ।

बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ पक्राउ परिसेकका छन्। त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल पक्राउ परिसकेका छन्। बैंकिङ कसुर मुद्दामा उनीहरुमाथि अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको थियो।


  •  
  •  
  •