हेटौँडा । हटौँडामा अपहरणमा परेका एक जनालाई आठ घण्टापछि उद्धार गरिएको छ ।
मकवानपुर प्रहरीले बुधबार बिहान बन्धक बनाइराखेको अवस्थामा हेटौँडा– ९ बाट रामेछाप दोरम्बा–५ बस्ने २१ वर्षीय नरेश थापा मगरलाई उद्धार गरेको हो ।

हेटौँडा–४ स्थित फरेष्ट्री गेट अगाडि अम्लेखगञ्जबाट काठमाडौं जाँदै गरेको बा२ज ५९५ नंको ट्याक्सीमा सवार नरेश थापा मगरलाई बा२ज ५३५६ नंको ट्याक्सीमा आएका तीन जनाको समूहले कुटपिट गरी घरेलु हतियार देखाएर अपहरण गरेका थिए ।
उनलाई हेटौँडा–९ लाम्सुरेस्थित एक घरमा बन्धक बनाइ राखिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी अपहरणमा सङ्लग्न पाँच जनालाई सार्वजनिक समेत गरेको छ ।
अपरहणमा संलग्न भएको आरोपमा चारसहित एकजना बन्धक बनाइराख्ने घरधनीसमेत पाँचजनालाई हेटौँडा–९ लाम्सुरेबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कैलाली धनगढी घर भई जिल्ला काठमाडौँ–३ पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापति, कञ्चनपुर श्रीपुर–६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाउँपालिका–६ बस्ने कृष्ण गुरुङ, सोही गाउँपालिका–४ घर भई बा२ज ५३५६ नं ट्याक्सी चालक आशिक लामा रहेका छन् ।
बन्धक बनाइराखेको घरधनी हेटौँडा–९ लामसुरेका ३६ वर्षीया सरस्वती तामाङलाई घटना भएको आठ घण्टापछि पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।