उद्योगपति केडिया अपहरणको मुख्य योजनाकार पक्राउ

352
  •  
  •  
  •  

पर्सा, २५ फागुन(ओएनएस) : प्रहरीले उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पासवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई सार्वजनिक गरेको हो ।

२०७३ जेठ १३ गते बाराका महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए ।

उनको मुख्य योजनाकार पासवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार सीमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारबाही गर्दा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरी नियन्त्रणमा रहेका पासवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागूऔषध खरीद गर्न नेपाल आउने क्रममा पक्राउ गरिएको उनको भनाइ छ ।

अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो ।
पक्राउ परेका उनीहरुलाई बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, संगठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारबाहीका लागि बारा प्रहरीको जिम्मा लगाइने उपरीक्षक ढकालले बताए ।


  •  
  •  
  •