जसले उडेर जुन छोए

352
  •  
  •  
  •  

-प्रमोद आचार्य

काठमाडौं, झण्डै दुई दशक अगाडि उच्च शिक्षाको लागि भन्दै बागलुङबाट बीबी अनुरागी र तनहुँबाट राजकुमार बगर पोखरा झरेका थिए । आफ्नो घर थिएन पोखरामा दुवैको । खोज्नुपर्यो कोठा भाडामा । एक्लै बस्न भन्दा साथीसँग बस्दा सुविस्ता हुन्छ कि भन्ने लाग्यो दुवैलाई ।

‘मन मिल्ने’ साथीको खोजीमा थिए अनुरागी र बगर दुवैजना । अनि संयोगले ट्यूसन सेन्टरमा भेट भयो बगर र अनुरागीको ।
त्यसपछि बगर र अनुरागी तेर्सापट्टीमा भाडामा लिइएको कोठा बस्थे । पृथ्वीनारायण क्याम्पस पढ्थे । क्याम्पसमा सँगै पढ्ने मात्र नभएर खाने, सुत्ने पनि सँगै । जमेको थियो दुई दौंतरीको दोस्ती ।

तेर्सापट्टीको कोठा पढ्ने मात्र होइन गीत लेख्ने, गाउने र बजाउने थलो पनि थियो ।

अनुरागीले ०५०÷०५२ सालमा भोलाप्रसाद राईसँग संगीत सिक्थे । संगीत साधनामा रमाउने राईले आफ्नै घरको एउटा कोठामा ‘सरगम संगीतालय’ स्थापना गरेका थिए । त्यहीँ संगीत सिकाउँथे अनुरागी लगायतलाई ।
अनुरागीका रुम–पार्टनर बगर पहिल्यैदेखि शब्द कोर्थे । संगीतमा दुवैको ज्यादा रुची थियो । शिक्षण पनि मन पर्थ्र्यो दुवैलाई । सानो छँदा अनुरागीको चाहना शिक्षक बन्ने थियो । बगरले त तनहुँमा पढाए पनि ।
कोठामा रहँदा दुवैले गीत गुनगुनाइरहन्थे ।

एक दिन बगर पत्रिका पढिरहेका थिए । अनुरागी नयाँ नयाँ धुन गुनगुनाइरहेका थिए । गुनगुनाइरहेको बेला बगरलाई एउटा धुन मन पर्यो । पत्रिकाका शब्दमा दौडिएका आँखा अनुरागीतिर पुगे । सोधे–‘कुन गीतको धुन हो यो ?’
‘होइन, नयाँ हो, मैले प्राक्टिस गर्दाखेरिको’ अनुरागीले जवाफ दिए ।
‘यो त राम्रो छ नि, यसलाई त गीत बनाम न ।’ बगरले भने ।

‘किन नहुने, भैहाल्छ नि’ अनुरागीले स्वीकृती नजनाउने कुरै थिएन ।
बगरले डायरी पल्टाए । शब्दहरु थुप्रै थिए । अनुरागीले गुनगुनाएको धुनमा कुन शब्द मिल्ला ? एकछिन घोरिए । अनि देखाए ‘उडेर जुन छुन्छु भन्थेँ, तर आज पिँजडाको चरी भाछ जीवन…’
बगरको शब्दमा अनुरागीले मेलोडी तयार गरे । पछि अनुरागी आफैले यो गीत गाउँदै हिँड्थे । कोठा, सडक, संगितालयदेखि विभिन्न कार्यक्रमहरुमा अनुरागीले धेरैजसो गाउने गीत यही हुन्थ्यो ।
त्यतिबेला अनुरागीले पोखराको फूलबारी रेष्टुरेण्टमा गाउने बजाउने काम गर्थे । विशेष गरेर किवोर्ड बजाउनु त्यहाँ उनको मुख्य काम थियो ।
अनुरागीले एकदिन ‘उडेर जुन छुन्छु…’ बोलको गीत गाए । रामभक्त जोजिजु त्यहिँ गाउने गर्थे । जोजिजुले सुने अनुरागीले गाएको । शब्द, लय, संगीत सबै मन परेछ ।

त्यसपछि अनुरागी र बगरलाई भेटेर जोजिजुले भने ‘यो गीत मलाई मन पर्यो । बजारमा ल्याउनु पर्यो ।’
बगरले गीत गाएरै सुनाए । जोजिजुले रेडियो नेपालमा त्यो गीत गाउने कुरा गरे । बगरले ‘हुन्छ’ भने ।

२०५५ सालमा रामभक्त जोजिजुले रेडियो नेपालमा यो गीत गाए राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा । ‘आफू पहिलो या दोस्रो केही हुने अपेक्षाका साथ गाएको होइन । प्रतिभा मात्रै प्रस्फुटन गरौँ भन्ने थियो ।’ अप्रत्याशित सफलता पाएपछि भएको खुसी जोजिजुले सम्झिए, ‘कल्पनै गरेको थिइन तर स्वर र शब्द दुवैतर्फ पहिलो भयो ।’
रेडियो नेपालका विभिन्न प्रतियोगितामा प्रथम भएर पनि बजारमा चल्ने गीतहरु विरलै छन् । तर यो गीत भने हिट भयो । पहिलो भएपछि रेडियो नेपालमै रेकर्ड भयो । गीत चर्चित भइसकेको थियो ।

‘बाहिर (सभा, कार्यक्रमहरुमा) पनि गाउनुपर्ने होला ।’ रामभक्तले सोचे –‘ट्रयाक त छैन । अब के गर्ने ?’
रेडियो नेपाल आफूले प्रतियोगिता गराएको भएर गीत रेकर्ड गरेपनि ट्रयाक बनाइदिँदैनथ्यो ।
जोजिजुले ०५६ सालमा आफ्नै खर्च गरेर माइतीघरको ‘सुपर साउण्ड’मा सोही गीत रेकर्ड गराए । रेडियो नेपालमै काम गर्ने श्रीराम रायमाझीको रेकर्डिङ स्टुडियो थियो त्यो ।
यो गीत राजकुमार बगर र बीबी अनुरागीले विभिन्न प्रतियोगितामा पनि गाएको गीत थियो । तर पहिलो दोस्रो भएको थिएन । जब जोजिजुले गाए, गीतको चर्चा चुलिएको थियो । त्यसैले गीत सफल हुनुमा तीनै जनाको बराबर योगदान गरेको बताउँछन् जोजिजु, बगर र अनुरागी ।

पछि जोजिजुले ‘भाग्य’ एल्बममा यो गीत राखे राखे । धेरै एफएम थिएनन् अहिलेको जस्तो । तर पोखराको अन्नपूर्ण एफएमले निक्कै बजायो । म्यूजिक भिडियो पनि बन्यो । दिपक श्रेष्ठले निर्देशन गरे । इमेज च्यानल भर्खरै आएको थियो । एनटीभी र इमेज च्यानलले देखाए । चर्चा भयो । दर्शक श्रोताको माझमा पुग्यो । पछि अरु पनि भिजुअल बने । फिल्ममा समेत राखियो ।
श्रोता दर्शकको मुटुमा छुने खालमा शब्द, त्यसैअनुसारको संगीत र स्वर भएकै कारण चर्चाम पुग्यो भन्ने ठान्छन् जोजिजु ।
त्यसभन्दा पहिले जोजिजुले भजनहरु संग्रहित गरेर एउटा एल्बम निकालेका थिए । अहिलेको जस्तो ट्रयाकमा गाउने चलन थिएन । बाजा र स्वर एकै पटक भर्नुपथ्र्यो ।

गाएका एकल गीत मध्ये सर्वाधिक चलेको उडेर जुन नै हो भन्छन् उनी । झण्डै एक दर्जन जति एल्बम निकालिसकेका उनी ‘उडेर जुन..’लाई आफ्नो चिनारी गराउने गीत मान्छन् । त्यसो त ‘के बर मागि आयौ…’ले पनि उनलाई चर्चामा पुर्यायो ।
गीतमा उडेर जुन छुन खोजेको तर छुने सपना सफल नभएको भाव छ । तर गीतले भने जोजिजुलाई भने जुन छुने बनाइदियो । ‘त्यही गीतले मलाई यति सफल बनाइदियो कि’ सुमधुर स्वरका धनी जोजिजुले आफ्नो सफलतालाई जुन छुनुसँग तुलना गरे’, ‘मेरो लागि त यो गीतले जुन छोए जस्तै बनायो । आम दर्शक र श्रोताले चिन्ने मौका पाए ।’

आफ्नो स्वर रहेको गीतको चर्चा यत्रतत्र छँदै थियो, जोजिजुको मनमा नयाँ रहर पलायो –‘महिलाको स्वरमा सोही गीत रेकर्ड गरौँ ।’चाँजोपाँजो मिलाए । कुन्ती मोक्तानले गीत रेकर्ड गरिन् । तर त्यो भने बजारमा त्यत्ति चलेन ।
उनले हालै सो गीत फेरि रेकर्ड गराए । भिजुअल पनि नयाँ बनाए । तर किन ?
जोजिजुले जवाफ दिए ‘आफ्नै गीतलाई पुर्नजिवित गर्न खोजेको हुँ ।’

सुरुमा बनाएको भिजुअल आजकल पाइँदैन । जोजिजु आफैले पनि त्यसको जतन गर्न सकेनछन् । ‘अरु धेरै भिजुअल बनेका छन्, तर ती पुरानो जमानाका जस्ता देखिन्छन् ।’ उनले भने, ‘नयाँपन दिनको लागि रि–रेकर्ड गरेँ, अनि भिजुअल पनि बनाएको हो ।’


  •  
  •  
  •