बैंसमा अनुराधा कोइराला: प्रेमपत्र पढ्दा

310
  •  
  •  
  •  

ओखलढुंगाको रुम्जाटारमा जन्मिएकी अनुराधा गुरुङले कालिङपोङस्थित सेन्ट जोसफ कन्भेन्टमा स्कुल र कोलकाताबाट स्नातक पूरा गरेकी हुन्। शिक्षिकाको रूपमा करियर सुरु गरेकी उनले माइती नेपालको स्थापना गरी हजारौं महिला तथा बालिकाको उद्धार गरिसकेकी छन्। विवाहपछि अनुराधा कोइरालाका रूपमा महिला अधिकारकर्मी तथा समाजसेवामा ख्याति कमाएकी उनी बैंसमा कस्ति थिइन्, उनकै शब्दमा।
अधुरो चाहना 
सानैदेखि मलाई एअर होस्टेस बन्ने चाहना थियो। मेरो बहिनी चाहिँ डाक्टर बन्छु भन्थी। मेरो माइलो दाजुलाई एअर होस्टेस भनेपछि पटक्कै मन नपर्ने। मलाई एअर होस्टेसभन्दा त कसैको घरमा भाडा माझेर खाऊ न भन्नुहुन्थ्यो। नभन्दै एयर होस्टेज बन्ने मेरो चाहना अधुरै रहह्यो। बुवा भने ‘छोरीलाई म वारिस्टर(वकिल) बनाउँछु’ भन्नुहुन्थ्यो।
चुरीदार कुर्तामा चिटिक्‍क 
म ८, ९ कक्षा पढ्दासम्म आमाले जे छानिदियो त्यही लगाउँथे। कलेज जान थालेपछि चाहिँ लुगा एकदमै म्याचिङ लगाउनु पर्ने। सुरुवाल रातो भए माथि पनि रातै रङको हुनुपर्ने। म अलि मोटी भएकाले पाइन्ट टिसर्ट कहिले लगाइनँ। मलाई चुरीदार कुर्ता साह्रै मनपथ्‍यो। घरारा र सरारा पनि धेरै लगाएँ।
शृंगारले लोभ्याएन 
फेसनप्रति म निकै सचेत भए पनि शृंगार त्यति मन पर्दैनथ्यो। मैले साबुनले मुख कहिले धोइनँ। क्रिम पाउडर र लिपिस्टिक पनि लगाइनँ। नेपाल आएर अमर आदर्श स्कुलमा पढाउन थालेपछि त्यहाँकी अध्यक्ष सुशीला थापाले ‘कस्ती खालकी रहिछे, टीका चुरा केही लगाउन पर्दैन’ भनेपछि २०२२ सालदेखि हातमा एउटा चुरा र निधारमा टीका लगाउन थालेँ।
अन्ताक्षरीमा अब्बल 
गीतसंगीत मलाई सानैदेखि मनपर्ने। अन्ताक्षरीमा कसैले जित्न सक्दैनथे। अंग्रेजी गीत त खासै आउँदैन तर नेपाली र हिन्दीमा अहिले पनि जोसुकैलाई चुनौती दिन सक्छु।
होस्टेलमा बसेर पढेकाले विद्यालय जीवनमा त्यति चलचित्र हेर्न नपाए पनि चलचित्र मधुमति १५ पटक हेरेँ। आँखा चिम्लेर सो चलचित्रको कथा अहिले पनि सरर भन्न सक्छु। गीत पनि सबै आउँछ।
मायाको भावना जागेन 
स्कुलदेखि कलेज पढ्दासम्म प्राय: पढाइमा नै केन्द्रित हुन्थ्यौं। कलेजका केटा र केटी साथी सबैजनाले एकअर्कालाई असल मित्रको रूपमा मात्रै हेर्थ्‍यो। उत्तिबेला अहिलेको पुस्तामा जस्तो प्रेम र रोमान्सको फेसन थिएन। त्यसैले हाम्रो मित्रतामा पनि माया प्रेमको भावनै जाग्दैनथ्यो।
प्रेमपत्र पढ्दा थप्पड 
एकपटक मामाघरमा जाँदा छिमेकमा रहेको एउटा केटाले प्रेमपत्र लेखेर पठाएछ। त्यसैरी कसैले कहिल्यै प्रेमपत्र नपठाएको। म त अत्तालिएछु।
हतारहतार बाथरुम भित्र पसेर पढेँ। मलाई त के गरौं, कसो गरौं भयो। त्यो कुरा माइलो दाजुले थाहा पाइहाल्नु भएछ। चिठी च्यातचुत पारेर मलाई थप्पड हान्नुभयो। त्यो केटालाई पनि वार्निङ दिनुभयो।
नरुचाएको विवाह 
मेरो प्रेम विवाह भएको हो। सासू एकदमै कट्टर र धार्मिक स्वभावको हुनुहुथ्यो। उहाँले नरुचाएकाले विवाहका लागि धेरै संघर्ष गर्नुपर्‍यो।
कहिलेकाहीँ सम्झन्छु, विवाह जीवनका लागि अनौठो संयोग जस्तो लाग्छ।
प्रस्तुति : रामकला खड्का / अन्नपूर्ण


  •  
  •  
  •