काठमाडौं, १८ मंसिर(ओएनएस) । आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ ।
देश संघीयतामा गइसकेपछि पहिलो पटक संघ र प्रदेशबीच बैठक हुन लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।
बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले बताए । संविधानको धारा २३४ मा संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न एक अन्तर प्रदेश परिषद् रहने व्यवस्था रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने परिषद्मा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य रहेका छन् ।
बैठकले संघ र प्रदेश तथा प्रदेश–प्रदेश बीच देखिएका राजनीतिक विवादलाई समाधान गरिने बताइएको छ । बैठकमा देखिएका विवादको विषयमा सम्बन्धित सरकारको मन्त्री र सम्बन्धित प्रदेशको मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्था छ ।