आजदेखि आन्तरिक उडान सञ्चालनमा, २५ प्रतिशतमात्र उडान हुने

574
  •  
  •  
  •  

काठमाडौं । विगत ६ महिनादेखि बन्द भएको आन्तरिक हवाई उडान सोमबार(आज)देखि पुनः सुचारु हुने भएको छ।

सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न गत चैत ११ गते लकडाउन घोषणा गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका थिए। गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेबाट आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

तर कुल उडान क्षमताको २५ प्रतिशत मात्रै उडान गर्नुपर्ने प्रावधानको साथमा कुल सिटको आधा क्षमतामा मात्रै यात्रु बोक्ने पाइने निर्णय थपिएपछि वायुसेवा सञ्चालक संघले जहाज नउडाउने निर्णय गरेका थिए । उनीहरुले सुरक्षाका पूर्ण मापदण्ड पालना गर्नेरगराउने तर सबै सिट भरेर उडान गर्न पाउने माग गरेका थिए ।

वायुसेवा सञ्चालकको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदबाट पारित गराइसकेको छ । आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म जहाज उड्नेछन् तर पूर्ण सिट क्षमतामै जहाज उड्नेछन् ।

यस्तै यात्रुहरुले स्वस्थ भएको घोषणा गर्नुपर्ने र मास्क अनिवार्य लगाउनुपर्ने छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ, विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन ।

यस्ता छन् मापदण्ड

मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ ।

७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले आफुमा कोरोना नभएको स्वघोषणासहित सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ ।

विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा कोरिएको छ । आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ–ठाउँमा स्यानिटाइजर राखिएको छ । प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बसलाई हरेक पल्ट नि–सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि–सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र बिमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।

आन्तरिक जहाजभित्र खाना र खाजा निषेध गरिएको छ । जहाजको शौचालय पनि बन्द हुनेछ । कुकुर र बिरालो बोक्न पाइने छैन । समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही हुनेछ ।


  •  
  •  
  •