अनसनरत दुई युवा र सरकारबीच १२ बुँदे सहमति

273
  •  
  •  
  •  

काठमाडौं । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसनरत दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ। सहमतिसँगै उनीहरुले अनसन तोडेका छन्।

स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन् ।

सत्याग्रही युवा र सरकारबीच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ । होम क्वारेन्टिनको निर्देशिका हप्तादिन भित्र तयार पार्ने सहमति पनि भएको छ ।

यस्तै जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका पनि) को राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्ङ्गि सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै भर पठाउने तथा समाजमा पुनस्र्थापना गर्ने व्यवस्थाको कार्यविधि निर्देशिका यसै हप्ता तयार गर्नेसहितका सहमति भएको छ ।

यस्तै सर्वोच्च अदालतको फैसला अनुसार परीक्षण तथा क्वारेन्टिन लगायतका विषयमा हाल जारी निर्देशिका एवम् प्रोटोकललाई परिमार्जन गर्नेसहित सहमति भएको छ ।
क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, आरडीटी परीक्षण बन्द गर्ने लगायतका माग राख्दै दुई युवाहरु पाटनको डबलीमा अनसन बसेका थिए । उनीहरुको स्वास्थ्य विग्रिँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए ।


  •  
  •  
  •