अनेरास्ववियुद्वारा आयल निगमविरूद्ध अख्तियारमा उजुरी

435
  •  
  •  
  •  

काठमाडौँ, ३ चैत्र(ओएनएस) : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगमले संस्थागत रूपमा कालोबजारी गरेर उपभोक्ताहरूलाई लुटेको भन्दै दोषीमाथी कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।

अनेरास्ववियुले कालोसूचीमा परेको निजी क्षेत्रको विराट पेट्रोलियमलाई प्रतिलिटर ३१ रूपैयाँ महंगोमा पेट्रोल बेच्न दिने निर्णय गरेर आर्थिक चलखेल गरेका पदाधिकारीमाथि कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेको हो ।

गत बिहिबार निगमले विराट पेट्रोलियमलाई १ सय २९ रूपैयाँ प्रतिलिटर मूल्यमा पेट्रोल बिक्री गर्ने अनुमति दिएको थियो । निगमले हाल ९९ रुपैयाँ प्रतिलिटर मूल्यमा तेल बिक्री गरिरहेको छ ।

३१ रुपैयाँ बढी मूल्यमा तेल बिक्री गरेकोमा चर्को विरोध भएपछि विराट पेट्रोलियमले आइतबारदेखि ९९ रुपैयाँमै तेल बिक्री सुरु गरेको छ । उसले राजधानीको तीन पेट्रोल पम्पमार्फत तेल बिक्री गरिरहेको छ ।

अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अख्तियारका प्रवक्ता पुष्करले सरकारले भारतले नाकाबन्दी लगाएको असहज परिस्थितिमा निजी क्षेत्रमार्फत इन्धन भित्र्याउन गरेको निर्णयलाई निगमको व्यवस्थापनले फाइदा लिने माध्यम बनाएको बताए । उनले विराट लगायतका ३५ वटा संस्थालाई इन्धन भित्र्याउन दिने निर्णयलाई सरकारले बेवास्ता गरेको परिणाम कालोबजारीयाहरुको मनोबल बढेको र उपभोक्ताहरु मारमा परेको उल्लेख गरे ।


  •  
  •  
  •