अखिल महाधिवेशनमा ७ सय उम्मेदवार,८ पेजको मतपत्र

154
  •  
  •  
  •  

नयाँ नेतृत्वका लागि आज मतदान

अनेरास्ववियुको २२औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । अध्यक्षमा संस्थापन पक्षकी नवीना लामा र नेता माधवकुमार नेपाल पक्षका दीपक गौतमबीच कडा प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष, महासचिवसहित १९ सदस्यीय पदाधिकारी, ४१ सदस्यीय सचिवालयसहित एक सय ४१ सदस्यीय केन्द्रीय समिति, एक सय ४६ सदस्यीय राष्ट्रिय परिषद् सदस्य र ४५ सदस्यीय तीन आयोगमा प्यानल बनाएरै उम्मेदवारी परेको छ ।

तीन सय ३५ पदमा निर्वाचन

अध्यक्षसहित तीन सय ३५ पदका लागि करिब सात सय प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सचिव माधव पौडेलका अनुसार अध्यक्षका प्रत्याशी लामा र गौतम दुवैले समूहगत रूपमा लिस्ट बनाएर उम्मेदवारी दर्ता गराएकाले ६ सय ७० जनाको उम्मेदवारी परेको छ । दुवै समूहको सूचीमा नपरेका केहीले बागी उम्मेदवारी दिएका छन् ।

आठ पेजको मतपत्र

उम्मेदवारको संख्या ठूलो भएकाले मतपत्र छपाइमा धेरै समय लागेको छ । सात सय  उम्मेदवारको नाम राखेर आठ पेजको मतपत्र छपाइ भइरहेको छ । प्रतिनिधिमध्ये झन्डै आधा उम्मेदवार सुरुमा सार्वजनिक गरिएको १५ सय ४३ प्रतिनिधिको संख्या बढेर १५ सय ९७ पुगेको छ । दुवै पक्षले आधा–आधा संख्या बाँड्ने गरी विवाद मिलाउँदा संख्या बढेको हो ।

तीमध्ये सात सय प्रतिनिधिले त उम्मेदवारी नै दर्ता गराएका छन् । सचिवालयमा लामा समूहबाट विनय साह तथा गौतम समूहबाट कमलमणि गौतमले बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, दुवै समूहबाट केन्द्रीय र पार्षद्का लागि दुई दर्जन बढी बागी उम्मेदवार बनेका छन् ।

प्रचारका क्रममा दुई समूहबीच झडप

अध्यक्षका प्रत्याशी गौतम र महासचिवका प्रत्याशी ऐन महरका प्रचारकबीच मंगलबार केहीबेर झडप भयो । प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको थियो । झडप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै निर्वाचन आयोगले प्रचारमा रोक लगाएर महाधिवेशन स्थल वरपर सुरक्षा बढाएको छ । नयाँ पत्रिकाबाट 


  •  
  •  
  •