लिङ्ग परिवर्तन गरेर मोडलिङमा जम्ने अञ्जलीको ईच्छा

126
  •  
  •  
  •  

नेपाली समाजमा रहेको तेश्रो लिङ्गीहरुको अवस्था र हाम्रो समाजले हेर्ने दृष्टिकोणलाई जोडेर तयार गरिएको डकुमेन्ट्री फिल्म ‘अञ्जली एक पृथक यात्रा’को विहिवार राजधानीमा वर्ल्ड प्रिमियर गरिएको छ । स्वदेशी तथा विदेशी कुटनितिज्ञ, राजनितिज्ञ, सिनेकर्मी तथा व्लु डायमण्ड सोसायटीमा आवद्ध विभिन्न व्याक्तित्वहरुको उपस्थितीमा यो वृत्त चित्रको प्रिमियर गरिएको थियो ।

कुमारी हलमा भएको प्रिमियरमा नर्वेजियन दुतावासका मिनिस्टर काउन्सेलर हकन गुलग्राण्डसनले अञ्जलीको यथार्थता बोले पनि सम्पुर्ण तेश्रो लिङ्गीहरुको कथा वोलेको यो डकुमेन्ट्री मार्फत मानविय सम्मानको विषय उठेको बताए । ‘तेश्रो लिङ्गीहरु पनि अवसर पाएमा सक्षम छन र उनीहरुलाई महिला र पुरुष भन्दा बाहिरको व्यवहार गर्नु हुँदैन, सम्मान र अवसर दिनुपर्ने सामाजिक आवश्यकता छ, उनले थपे ।

माउण्टेन रिभर फिल्मस्’को व्यवस्थापनमा तथा नर्वेजियन दुतावासको आर्थिक सहयोगमा भएको प्रिमियरमा पर्दामा तेश्रो लिङ्गीहरुको प्रतिनिधी पात्र बनेकी अञ्जली लामा स्वयंम उपस्थित थिईन् ।

सुरुमा पुरुष बनेर जन्म लिएकी उनले आफु अहिले महिलाको परिचयमा रहेता पनि लैङ्गिक रुपमा आधा महिला आधा पुरुष नै रहेर जिउँन परेको भन्दै आर्थिक अभावमा लिङ्ग परिवर्तन गर्न नसकेको दुखेसो पोखिन् । साथै लिङ्ग परिवर्तन गरेर पुर्णतः महिला बन्ने अनि मोडलिङ्मा करियर बसाल्ने आफ्नो चाहना रहेको खुलाईन् ।

निर्देशक मोहन राईले अञ्जली जस्ता समाजमा धेरै पात्रहरु रहेको भन्दै तिनीहरुको प्रोत्साहनको लागी अञ्जली मार्ग निर्देशक बन्ने दावी गरे । निकट भविष्यमा नै कमर्सियल रिलिज तथा विभिन्न फिल्म फेस्टिभलहरुमा पठाउने तयारी गरिएको यो डकुमेन्ट्रीलाई रमेश धमलाले खिचेका हुन् ।


  •  
  •  
  •