कति तलब खान्छन् सेलिब्रेटी सीईओ ?

195
  •  
  •  
  •  

कठमाडौं, ३० पुस (ओएनएस) : सेलिब्रेटी सीईओ भनिने मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले एक वर्षमा १ करोड ४७ लाख रुपियाँ तलब लिएका छन् ।

उनले दसैँ मात्र १२ लाख २५ हजार रुपियाँको मनाएको बैंकको वासलातमा उल्लेख छ ।  इन्धनवापत उनले वर्षभरिमा ३ लाख १२ हजार ४ सय ५३ रुपियाँ बैंकबाटै खर्च गरेका छन् ।

यो सबै हिसाब गर्दा उनले १ करोड ६२ लाख ३७ हजार ४ सय ५३ रुपियाँ बुझेको देखिन्छ । यस हिसाबमा उनको मासिक तलब साढे १३ लाख हुन्छ ।

तर, उनको खुद खर्च यति मात्र छैन । यसबाहेक उनले गाडी सुविधा, चालक, सुरक्षा गार्ड पनि पाउँछन् ।
उनले असीमित मोबाइल खर्च पनि बैंकबाटै पाउँछन् । उनी विदेश गइरहने भएकाले अन्तर्राष्ट्रिय रोमिङवापत पनि लाखौँ खर्च हुने गरेको बैंकका कर्मचारी बताउँछन् ।

यसबाहेक उनले ठूलो रकम बोनसवापत प्राप्त गर्छन्, जुन वासलातमा उल्लेख छैन । बीमा ऐन बमोजिम बोनस प्राप्त गरेको उल्लेख गरे पनि वासलातमा अंक जनाइएको छैन ।

यसबाहेक बैंकले व्यवस्थापन समूहका प्रमुख व्यक्तिहरुका नाममा १ करोड ५९ लाख २५ हजार र्ख गरेको छ । यसमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि पर्छन् ।

बैंकको करिब १८ लाख रुपियाँ सञ्चालक समिति र उपसमितिका बैठक भत्तामा खर्च गरिएको छ ।
बैंकले यस वर्ष सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर बाँडेको छ ।

शाखा २८ र एटीएम ३१ सहित ग्राहक १ लाख २९ हजार ग्राहक रहेको मेगाले गत आर्थिक वर्षमा खूद नाफा ३० करोड ६० लाख कमाएको थियो । तर, उक्त बैंकको सञ्चालन खर्च मात्र ४१ करोड ७० लाख रुपियाँ छ ।
मेगा बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा जम्मा निक्षेप १७ अर्ब १४ करोड ८० लाख रुपियाँ संकलन गरेको छ । उसको जम्मा कर्जा १४ अर्ब ८८ करोड १० लाख पुगेको छ ।

बैंकका कार्यकारी अधिकृतले पाउने सेवासुविधा अझै पारदर्शी र औचित्यपूर्ण नभएको भन्दै सेयरधनीहरुले प्रश्न उठाएका छन् । सेयरधनीमध्येका एक कुवेर श्रेष्ठ भन्छन्, ‘कुनै पनि व्यक्तिलाई असीमित खर्च दिनुहुँदैन । इन्धन र मोबाइल खर्च पनि स्पष्ट सीमामा बाँधिनुपर्छ । व्यक्तिगत काममा र रमाइलोका लागि विदेश जाँदा भएको खर्च पनि हामीजस्ता सर्वसाधारण सेयरधनीको पैसाबाट भराउनु उचित हुँदैन ।’


  •  
  •  
  •