गुरूङको कप्तानीमा राष्ट्रिय फुटबल टोलीको घोषणा

382
  •  
  •  
  •  

काठमाडौँ, २८ मंसिर(ओएनएस) : साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । साफ च्याम्पियन्ससिपको लागि अनिल गुरुङको कप्तानीमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको हो ।

कप्तान सागर थापा र उपकप्तान सन्दीप राई खेल मिलोमतो गरेको आरोपमा पक्राउ परेपछि निलम्बित हुँदा टोली कप्तान बिहिन बनेको थियो । कप्तानीको जिम्मेवारी सम्हालेका गुरूङको अनुपस्थितिमा विराज महर्जन या रोहित चन्दले सम्हाल्नेछन् ।

भारतको केरलामा आगामी पुष ८ देखी १९ सम्म हुने नवौँ साफ च्याम्पियन्ससिपका लागि मुख्य प्रशिक्षक प्याट्रिक ओमेम्सले घोषणा गरेको टोलीमा विंगर नवीन लामा र गोलकिपर अमृत चौधरीले पहिलोपल्ट प्रवेश पाएका छन् ।

राष्ट्रिय लिग सकिएलगत्तै अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रारम्भिक चरणमा ४१ खेलाडीलाई बोलाएको थियो । ती खेलाडीमध्ये छनोट भएका २७ खेलाडीमा भरत खवास, देवेन्द्र तामाङ र शिव श्रेष्ठले चोटका कारण टोलीमा स्थान सुरक्षित राख्न सकेनन् ।

साफअघि नेपाली टोलीले पुस २ गते ढाकामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

साफमा नेपाल आयोजक भारत र श्रीलंकासँगै समूह ‘ए’ मा रहेको छ । अर्को समूहमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।


  •  
  •  
  •