मन्त्री र सदस्यसचिवबीच सम्बन्ध सुधारको संकेत

249
  •  
  •  
  •  

काठमाडौं १५ साउन (ओएनएस) :
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाबीचको कटुतापूर्ण सम्बन्ध सुध्रिने संकेत देखा परेको छ। खेलकुदमन्त्री पौडेल र सदस्यसचिव लामाबीच बुधबार भएको भेटघाटपछि सम्बन्धमा ‘आइस ब्रेक’ को संकेत देखिएको हो।

राखेपका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले सदस्यसचिव लामालाई पाँचबुँदे पत्र लेखेर आगामी असोज ३ गतेदेखि हुने १७ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को तयारीमा लाग्न निर्देशन दिएका छन्। यसअघि पौडेलले दक्षिण कोरियाको इन्चोनमा आयोजना हुने एसियाडमा मन्त्रालयले नै खेलाडी पठाउने बताउँदै आएका थिए। पौडेलले बुधबार नै सदस्यसचिव लामालाई भेटेर चिसिएको सम्बन्ध सुधार्ने प्रयास गरेका थिए। सदस्यसचिव लामासँगको भेटलगत्तै मन्त्री पौडेल बुधबार राति नर्वेमा हुने चेस ओलम्पियाडमा सहभागी हुने त्यसतर्फ लागेका छन्।

मन्त्री पौडेलले एसियाडको तयारीका लागि बन्द प्रशिक्षण सञ्चालन गर्न सदस्यसचिवलाई निर्देशन दिएको बताए। राखेपका उपाध्यक्ष टेन्डी शेर्पाको अध्यक्षतामा गठन भएको तयारी समितिका बारेमा भने मन्त्रीले खुलेर कुरा गर्न चाहेनन्। ‘अहिले केवल तयारी अघि बढाउन भनिएको हो, समिति वा अन्य विषयमा म नर्वेबाट फर्किएपछि निर्णय हुनेछ’, उनले भने।

सदस्यसचिव लामाले मन्त्री पौडेलसँगको भेटपछि तानातान र दोहोरी अन्त्य भएको भएको दाबी गरे। उनले मन्त्रीबाट प्राप्त निर्देशनलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने बताए। वर्तमान परिस्थितिमा आफू र मन्त्री पौडेलबीच मिल्नुको विक ल्प नरहेको पनि लामाले बताए। विगतमा लामाले खेलकुदमन्त्री राखेपको पदेन अध्यक्ष मात्र भएको र उनको काम केवल बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने भएको बताउँदै आएका थिए। लामाले मन्त्रीविरुद्ध अदालतमा अपहेलना मुद्दा समेत दर्ता गरेका थिए।

मन्त्री पौडेलले राखेपका सदस्यसचिवलाई लेखेको पत्रमा एसियाडको तयारीमा जुट्न निर्देशन दिइएको छ। यसैगरी पत्रमा मापदण्डमा बसेर प्रतियोगिताको तयारी गर्न समेत भनिएको छ। राखेपले एसियाडको तयारी र सहभागिताका लागि आवश्यक बजेट आफ्नै पहलमा जुटाउन र अपुग भए मन्त्रालयसँग समन्वय गर्न समेत मन्त्रीले निर्देशन दिएका छन्। पौडेलले राखेपका उपाध्यक्ष टेण्डी शेर्पाको अध्यक्षतामा गठन गरिएको तयारी समितिका बारेमा भने केही उल्लेख गरिएको छैन।

लामासँगको सम्बन्ध बिग्रिएपछि पौडेलले उपाध्यक्ष शेर्पालाई अगाडि बढाएका थिए। पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै गत असार ३२ गते शेर्पाको अध्यक्षतामा १५ सदस्यीय तयारी समिति बनाएका थिए। मन्त्री र सदस्यसचिव नजिकिएपछि शेर्पाको अध्यक्षतामा रहेको तयारी समितिको भविष्य भने अन्योलपूर्ण बनेको छ। तर शेर्पाले भने आफ्नो समिति यथावत् रहेको र सदस्यसचिव लामाले दिग्भ्रमित बनाउन खोजेको आरोप लगाए। अन्नपूर्णपोष्ट


  •  
  •  
  •