एन्फासँग बाझ्दा चार क्लब प्रतिबन्धित

74
  •  
  •  
  •  

काठमाडौैं ९ भदौ ।
खिल नेपाल फुटबल संघ (एन्फा) ले आफूसँग गत वर्षको पुरस्कार र तयारीको बाँकी रकम माग गर्ने चार क्लबमाथि प्रतिबन्ध लगाएको छ।मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फ्रेन्ड्स क्लबलाई २०७१ सालभरि एन्फाको आयोजना र स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो।

एकैपटक चार क्लबमाथि कारबाही भएको यो नेपाली फुटबलकै पहिलो घटना हो।
एन्फाको काम–कारबाहीसँग असहमत चार क्लबले वैशाखको सुरुआतमा क्लब समन्वय समिति गठन गर्दै गत वर्षको तयारी र पुरस्कार राशि नदिएसम्म एन्फाका कुनै कार्यक्रममा भाग नलिने निर्णय गरेका थिए।
आर्थिक विषयबाट सुरु भएको विवादले कारबाहीको रूप लिएको हो। झन्डै ८ महिनाको प्रतिबन्धमा परे पनि चार क्लबको ‘ए’ डिभिजन हैसियत यथावत रहनेछ। नेपालमा १२ ए डिभिजन क्लब छन्।
क्लब समन्वय समितिका संयोजक शिक्षित पराजुली एन्फाको प्रतिबन्धको कुनै अर्थ नभएको बताउँछन्। एन्फाले समस्या समाधानभन्दा कारबाही गरेर विवाद चर्काउन खोजेको उनले आरोप लगाए।
‘हामीले आफूले पाउनुपर्ने पैसा मागेका हौं। समयमा पैसा दिएको भए बैठक बहिष्कार गर्नुपर्ने थिएन,’ उनले नागरिकसँग भने, ‘आफ्नो दायित्व बिर्सेर एन्फा क्लबहरूलाई दास बनाउन खोज्छ। अधिकारले पाउने पैसाका लागि अहिले सर्त राखिएको छ, त्यो हामीलाई स्वीकार्य छैन।’
सरस्वती क्लबका अध्यक्षसमेत रहेका पराजुलीले एन्फाविरुद्ध आवाज उठाउने चार क्लबमाथिको प्रतिबन्ध ‘नियोजित षड्यन्त्र’ भएको बताए।
‘एन्फा अध्यक्षले चाहेको निर्णय हुने भएपछि यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौं,’ उनले प्रश्न गरे, ‘यसले के नेपाली फुटबलको समस्या समाधान भयो त? यो कारबाहीबाट एन्फाले के जित्यो? के हाम्रो बाँकी पैसा नदिएर एन्फा उम्कन मिल्छ? फुटबलमा विवाद सिर्जना एन्फा आफैंले गरिरहेको छ।’
समन्वय समितका सदस्य हिमालयन शेर्पाका कर्माछिरिङ शेर्पाका अनुसार मछिन्द्रको पुरस्कारको २५ लाखसहित चार क्लबले एन्फाबाट झन्डै ४० लाख रुपैयाँ पाउनुपर्नेछ।
मछिन्द्र गत वर्ष लिगको उपविजेता टोली हो। एन्फाले सशर्त पैसा दिने उल्लेख गरे पनि समन्वय समितिले त्यसलाई अस्वीकार गरेको छ। ‘एन्फा ढोका बन्द गरेर वार्तामा बोलाउँछ। फुटबललाई सहमतिमा अघि बढाउनेभन्दा एकलौटी ढंगले अघि बढाउन खोजिएको छ,’ पराजुलीले भने, ‘त्यसको विरोध गर्दा हामीलाई फुटबलविरोधीका रूपमा प्रस्तुत गर्न खोजिँदैछ। एन्फाले चाहँदैमा क्लबको अस्तित्व सकिन्न।’
एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधारले भने पटकपटक मौका दिँदा पनि स्पष्टीकरण प्राप्त नभएपछि प्रतिबन्ध लगाउनुपरेको बताए। ‘एन्फा सबै विषयमा छलफल गर्न तयार थियो। तर उहाँहरू छलफलमा आउन चाहनुभएन,’ उनले भने, ‘त्यसपछि एन्फाले प्रक्रियागत रूपमा आफ्नो कदम चालेको हो।’
एकसूत्रीय मागबाट सुरु भएको समन्वय समितिको अभियानमा साउनसम्म आइपुग्दा नयाँ माग थपिएका थिए। साउन २४ गते पत्रकार सम्मेलनमार्फत् समन्वय समितिले १२ सूत्रीय माग प्रस्तुत गरेको थियो। नागरिकबाट


  •  
  •  
  •