मछिन्द्र र मनाङका ६ खेलाडी कारबाहीमा

201
  •  
  •  
  •  

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।
एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका ६ खेलाडीलाई कारवाही गरेको हो ।

मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच/पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।
मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । यस्तै जगजित र अशोकलाई जनही १० हजार रुपैयाँ जरिवाना गरिएको एन्फाले जनाएको छ ।

मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी आ–आफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको एन्फाले जनाएको छ ।

डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए । खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रंगशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए ।

यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकालिएको थियो ।


  •  
  •  
  •