सडक कालोपत्रे गर्न आलटाल गरेको भन्दै आन्दोलन गर्ने चेतावनी

269
  •  
  •  
  •  

काठमाडौं, ९ जेठ(ओएनएस) : निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार संघ लगायतले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भएपनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

सडक निर्माण नभएको भन्दै बौद्धवासीले बाटो अवरुद्ध गरेपछि गत वैशाख २६ गते भएको सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्मको सडकमा कालोपत्र गर्नुपूर्व गरिने सवबेस, बेस र साइड ड्रेनको काम वैशाख २७ गतेबाट शुरु गर्ने सहमति भएको थियो । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले सहमतिअनुसार काम अगाडि नबढाएको भन्दै बौद्ध व्यापार संघ, स्थानीयवासीले ठेकेदार कम्पनीलाई तत्काल काम अगाडि बढाउन पटक–पटक माग गरेका थिए ।

बिहीबार बौद्ध व्यपार संघ, स्थानीयवासी र युवासहितको टोलीले त्रिपुरेश्वरमा रहेको ठेकेदार कम्पनी युनाइटेड विल्डर्सको कार्यालयमा पुगेर सहमतिअनुसार काम नभएको भन्दै ध्यानार्कषण गराएको बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईंले बताए ।

उनले भने, ‘वैशाख २७ गतेबाट बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नका लागि त्यसपूर्वको गर्नुपर्ने सडकको काम अगाडि बढाउने सहमति भएको थियो । तर १४ दिन बितिसक्दा पनि ठेकेदार कम्पनीले कालोपत्र गर्ने काम अगाडि बढाएको छैन ।’

ठेकेदारले टुसालदेखि बौद्ध गेटसम्मको बाटो कालोपत्र गरेर पन्छिन खोजेको भन्दै सम्झौतापत्रमा भएको सहमतिअनुसार जोरपाटीसम्म कालोपत्र नगरे पुनः आन्दोलन गर्ने स्थानीयवासी बिनीता कोइरालाले बताइन् ।

सम्झौतापत्रमा ठेकेदार कम्पनी युनाइटेड विल्र्डसका प्रमुख तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शकुन्तलालाल हिराचनले जोरपाटीसम्म कालोपत्र गर्ने, कालोपत्र गर्दा बिग्रेको खानेपानीको पाइप, ढल निर्माण गर्ने भन्दै हस्ताक्षर गरेका थिए ।


  •  
  •  
  •