
काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरूद्ध कारबाहीको माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो ।
लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अर्मयादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् । उनले सम्बन्धित निकायलाई छानविन गरी कारबाही गर्ने निर्देशन दिएको पनि बताए ।