‘आइसिटीको विकास सुन्नका लागि सुन्ने र भन्नका लागि भन्ने जस्तो मात्र’

190
  •  
  •  
  •  

binod-dhakal1नेपालमा सूचना प्रविधी तथा सञ्चारको विकास तिव्र गतिमा हुन सकेको छैन् । जति भएको छ त्यो आफ्नै गतिमा भएको छ । सरकारले प्राथमिकतामा नपारेपछि सूचना प्रविधी तथा सञ्चारको विकासलाई निजी क्षेत्रले नै धानिरहेको अवस्था छ । सूचना प्रविधी तथा सञ्चारबारेको जनचेतना जगाउने काम पनि निजी क्षेत्रबाट मात्रै भएको देखिन्छ । यसरी नै आइसीटीबारे जनतामा सचेतना जगाउने काम मा लागेको एक संस्था हो, कम्प्युटर एशोसियसन नेपाल (क्यान) । यस संस्थाले सूचना प्रविधीको क्षेत्रमा जनचेतना जगाउनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यसै कार्यक्रमअन्तर्गत क्यानले आगामी माग १४ गतेदेखी १९ गतेसम्म क्यान इन्फोटेक आयोजना गर्ने भएको छ । यसै कार्यक्रमको सेरोफेरोमा रहेर ओएनएसले क्यानका अध्यक्ष बिनोद ढकालसँग नेपालमा सूचना प्रविधी तथा सञ्चारको अवस्था र क्यान इन्फोटेकका बारेमा कुराकानी गरेको थियो । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अशः

नेपालमा सूचना प्रविधी तथा सञ्चार (आइसिटी)को अवस्था कस्तो छ ?

– राम्रो भन्न पनि मिल्दैन, नराम्रो भन्न पनि मिल्दैन । किनभने सरकारले अहिलेसम्म आइसिटीलाई प्राथमिकतामा अहिलेसम्म राखेको छैन् र भोली पनि राख्ने अवस्था हामीले देखेका छैनौ । अहिले जेजति ग्रोथ भएको छ आइसिटीको त्यो कसैले दुःख नगरी बढ्ने अवस्थामा छ । निरन्तरको प्रक्रियामा प्रविधीको प्रयोग भइरहेको छ, सरकारी कार्यालयमा पनि प्रविधीको प्रयोग बढिनै रहेको छ, नीजि क्षेत्रमा धेरै भएको देखिन्छ भने बैंकिङ क्षेत्रमा निकै धेरै प्रयोग भइरहेको छ । पुराना ढड्डाहरू लेख्न छोडिसकेका छन् । यसलाई हेर्ने हो भने धेरै विकास भएको मान्न सकिन्छ ।

तर, जुन हिसाबले को-अर्डिनेशन, राज्यले नै सोचेर के गर्न सकिन्छ भन्ने विषयमा सरकारले दिमाग लगाएको छैन् । यो भन्दा धेरै हुन सक्थ्यो । रोजगारी भएन, बेरोगजगारी बढ्यो भन्दा आइसिटीले के गर्न सक्थ्यो भने जति पनि पलायन भएका छन्, चाहे ती एक्पर्ट पलायन भएका हुन् या अरू खाले म्यानपावर पलायन भएका छन् तीनले यही रोजगारी पाउने अवस्था हुन सक्छ । यसका लागि सरकारले पहल गर्नुपर्यो । यदी सरकारले आइसिटीलाई प्राथमिकतामा राखेको भए बाहिर जाँदा पनि राम्रो अवसर पाउन सक्ने सम्भावना रहन्थ्यो । अहिले जुन हिसाबको म्यानपावर विदेशिएको थियो त्यो भन्दा केही उच्च स्तरको म्यानपावर विदेशिन सक्थ्यो । त्यो कुरालाई सरकारले सोचिदियो भने धेरै राम्रो हुने अवस्था देखिन्छ ।

क्यानले के गर्दैछ आइसिटीको विकासका लागि ?

– क्यानले गतिविधीहरू सञ्चालन गरिरहेको छ । जिल्ला स्तरिय कार्यक्रमहरु पनि गरिरहेका छौ । सबैतिर सचेतना जगाउने कामहरु गरिरहेका छौ । सरकारलाई झकझक्याउने काम पनि गरिरहेका छौ । विभिन्न पोलिसीमा इन्टरभेन गर्ने, सर-सल्लाह दिने, यसरी गरे राम्रो हुन्छ भनिरहेको अवस्था हो तर, सरकारको नै प्राथमिकतामा नपरिसकेपछि हामीले गर्ने कुरा मात्र पनि कुनै तुकको कुरा नहुने रहेछ । उही सुन्नका लागि सुन्ने र भन्नका लागि भन्ने जस्तो मात्र भइरहेको छ । हामी साच्चै नै यसमा केही हुन्छ भन्ने विश्वास गर्न नसक्ने अवस्थामा छौ । हामीले केही समयअघी सफ्टेक गर्यौ त्यो हाम्रो लागि गरेका होइनौ, राज्यकै लागी हो । कम्तिमा जनतालाई थाहा होस् भन्नका लागि गरेका हौ । अब हामी बृहत इन्फोटेक गर्दैछौ, यसपछि पोखरामा गर्दैछौ । त्यसपछि अन्य स्थानमा हुनेछन् । हामी सकेसम्म पाँचवटै विकास क्षेत्रमा गर्ने प्रयत्न गर्छौ ।

क्यान इन्फोटेक प्रदर्शनी कहिलेदेखी सुरू हुँदैछ ?

– क्यान इन्फोटेकआगामी माघ १४ गतेदेखी १९ गतेसम्म (जनवरी २८ देखी फ्रेबुअरी २ सम्म) आयोजना हुनेछ ।

प्रदर्शनीको तयारी कस्तो हुँदैछ ?

– बुकिङ ओपन भइसकेको छ, स्टलहरू बुकिङ गर्ने कामहरू पनि भइसकेको छ, स्पोन्सरहरू फाइनल गर्ने क्रममा छौ, अफिसियलहरू फाइनल गर्नुपर्यो । त्यसोहुनाले हामी तयारीको फेजमा नै छौ ।

प्रदर्शनीमा पक्कै पनि नयाँ उत्पादनहरू पनि हुन्छन् होला ?

– वर्षमा एक पटक हुने हो । विज्ञान प्रविधीको क्षेत्रमा एक वर्षमा धेरै कुराहरू परिवर्तन भएको हुन्छ । नयाँ-नयाँ प्रविधीका संस्करणहरू आउँछन् । ल्यापटप भन्ने हो भने पनि देख्दा पहिलेकै जस्तो ल्यापटप देखिन्छ तर, भित्रका स्पेसिफिकेशनहरू फरक हुन्छ । प्रिन्टरहरू पनि विभिन्न सुविधाहरू फरक भएर आउँछन् । ठ्याक्कै यस्तो आउँछ भन्न सक्ने अवस्था त छैन् । तर, हाम्रो अनुमानमा राम्रै कुराहरू आउँछ भन्ने हो ।

कुन प्रविधी अहिलेको प्रदर्शनीमा मुख्य आकर्षण बन्नेछ ?

– अहिले अवलोकनकर्ताले के रूचाउँछ भन्दा पनि अहिले इन्टरनेट सर्भिस प्रोभाइडर(आईएसपी)हरू एग्रेसिभ भएर आएका छन् । आईएसपीभनेको नेपाल टेलिकम जस्ता कम्पनी हुन् जसले इन्टरनेट सेवा प्रदान गर्छन् । त्यस्ता कम्पनीहरू बढी छन् र प्रदर्शनीको स्पोन्सरमा पनि प्रमुख रूपमा आईएसपी नै छन् । हाम्रो मुख्य स्पोन्सर नै सुबिसु छ, जसले इन्टरनेट सेवा नै प्रदान गरिरहेको छ । यस हिसाबले बढि चाँही आईएसपीनै देखिने अवस्था छ । समग्रमा आईएसपीसँग सम्बन्धित उत्पादनहरू नै प्रमुख हुनेछन् । सर्वसाधारणको आकर्षण के होला भन्ने अनुमान गर्दा, नयाँ ल्यापटप के आएको छ, मोबाइल, एण्ड्रोइडहरू के आएका छन् ? स्मार्टफोनहरू, ट्याबलेट, पिसी कस्ता आएका छन् भन्ने कुराहरूमा बढि जिज्ञासा होला जस्तो लाग्छ । त्यहि नै हुन्छ होला ।

केही समयअगाडि मात्र क्यान सफ्टेकसकियो । त्यसैले क्यान इन्फोटेकमाहार्डवेयर नै बढी फोकस हुन्छ कि दुवै उस्तै हुन्छ ?

– समग्रमा सफ्टवेयर या हार्डवेयर मात्र भनेर फोकस गर्दैनौ । त्यहाँ सफ्टवेयर, हार्डवेयर तथा कम्युनिकेशन सबै हुन्छ, सेवाहरू पनि हुन्छन् । समग्रमा सबै कुराहरू हुन्छन् । सफ्टेकमा हामीले सफ्टवेयर मात्र फोकस गर्न खोजिरहेका थियौ । तर, प्रदर्शनीमा सफ्टवेयरलाई मात्र फोकस गर्न नसक्ने भएकाले सेवाहरूलाई पनि समावेश गरेका थियौ । त्यही हुनाले भृकुटीमण्डपमा त्यति ठूलो स्टल राख्न सम्भव भएको हो । सफ्टवेयरलाई मात्र गर्न खोज्दा भृकुटीमण्डपमा गर्नै सक्दैनौ । इन्फोटेकमा हामीले कुनै एउटा स्पेसिफाईड भन्दा पनि सबैलाई समेट्ने छौ । त्यो गर्दा अलि बृहत हुन्छ ।

प्रदर्शनीमा कतिवटा स्टलहरू रहने छन् ? स्टिमेट गरिसक्नु भयो ?

– प्रदर्शनीमा भित्रबाहिर गरेर १ सय ७० वटा स्टल रहनेछन् भने भित्र ४० वटा ठूला पेभेलियन रहनेछन् । हामीले भृकुटीमण्डपमा पुरै ठाऊँमा लिन्छौ । यहाँसम्मकी भृकुटीमण्डपको बगैँचामा समेत हाम्रा स्टल रहनेछन् । त्यहाँ हामीले फुड स्टलहरू राख्नेछौ । यो निकै ठूलो बृहत प्रदर्शनी हुन्छ ।

प्रदर्शनीमा अन्य आकर्षण के हुनेछ ?

– यसबीचमा अन्तराष्ट्रिय सूचना प्रविधी तथा सञ्चारका विषयमा सम्मेलन पनि गर्दैछौ । यो हामीले हरेक वर्ष गर्दै आएका छौ । इन्फोटेकको बेला पारेर प्रत्येक वर्ष गर्ने गरेका छौ । यस सम्मेलनमा कुनै इस्युमा बेस भएर कार्यपत्र प्रस्तुत गर्ने, त्यसबारे छलफल गर्ने, प्यानल डिस्कशन गर्ने कार्यहरू हुन्छ ।

यसपटक ‘आइसिटी फर डेभेलपमेन्ट’ भनेर नारा राखेका छौ । त्यसको लागी तयारी गरिरहेका छौ । त्यसको लागि समय छ, चाँडै नै पेपरहरू कल गर्छौ । यसमा अन्तराष्ट्रिय सहभागिता पनि हुन सक्छ । आइसिटीसँग सम्बन्धित अन्तराष्ट्रिय व्यक्तित्वहरूले पनि कार्यपत्र प्रस्तुत गर्न सक्नु हुन्छ ।

यसमा कुन क्षेत्रमा बढि फोकस हुन्छ होला ?

– यसमा ठ्याक्कै यो विषयमा फोकस हुने भनेर निर्णय गरेका छैनौ । कृषि क्षेत्रमा बढि फोकस गर्ने की भनेर सोचिरहेका छौ । त्यसपछि ब्रोडब्यान्डका इस्युहरूमा पनि फोकस हुन सकिने छ । अहिलेको समय यस्तो भयो की कनेक्टिभिटी नभइकन त कुनै काम नै नहुने भयो । इन्टरनेटबिना कुनै पनि काम नहुने अवस्था आइसकेको छ । इन्टरनेट भयो भने जतिसुकै ठूलो ठाऊँ भएपनि सानो गाऊँ जस्तो हुन्छ ।

प्रदर्शनीमा कतिले अवलोकन गर्ने अनुमान गर्नु भएको छ ?

– यति संख्यामा भनेर भन्दैनौ तर, उल्लेख्य संख्यामा अवलोकन हुन्छ । सफ्टेकमा पनि यति जनाले अवलोकन गरे भनेर खोल्न चाहेनौ । विभिन्न ठाऊँबाट तनाव झेल्नु पर्ने हुनाले यति मानिसले अवलोकन गरे भनेका छैनौ । हामीले सकारात्मक सोचका साथ काम गरेपनि तनावहरू आउने गर्छन् । यसकारण पनि यस विषयमा त्यतिधेरै कुरा गर्दैनौ ।

प्रदर्शनीमा कतिको कारोबार हुने अनुमान गर्नुभएको छ ?

– अहिलेसम्म कारोबार बारे पटक्कै ध्यान दिएका छैनौ । कारोबार भनेको के त्यहाँ हुने एउटा पेन ड्राइभको कारोबारले हुन्छ र ? त्यहाँ त एउटा भिजिटिङ कार्डबाटै नै व्यापार सुरूवात गर्न सकिन्छ । एउटा भिजिटिङ कार्डले मात्र पनि धेरै व्यापार हुन सक्छ । त्यसलाई कसरी कारोबारमा राख्ने ? एउटा ल्यापटप किन्नु ठूलो कुरा होइन, त्यसबाट उसले धेरै व्यापार गर्न सक्छ । हामीले उत्पादन डिस्प्ले गर्ने हो, अवलोकनकर्ताले हेर्ने हो, त्यही उत्पादन किन्नु पर्छ भन्ने बाध्यात्मक अवस्था हुँदैन । किने पनि भयो त्यसमा कुनै समस्या हुँदैन ।

तर, कुरा के हो भने त्यसबाट धेरै व्यापार जेनेरेट हुन सक्छ । ती कुराले अवसर सिर्जना हुन सक्छ । अहिलेको अवस्थामा यदी कसैलाई एउटा ल्यापटप किन्नु पर्यो भने पुतलीसडक, न्युरोड तथा अन्य ल्यापटप पाइने स्थान चहार्नुपर्ने हुन्छ । तर, प्रदर्शनीमा एउटै ठाऊँमा विभिन्न ल्यापटप हेर्न सकिन्छ र मन परेको ल्यापटप किन्न पनि सकिन्छ । त्यहाँ ठुलो परिमाणमा हुने भएकाले केही सहुलियत दरमा समेत सामानहरू पाइन्छ । साथै विभिन्न अफरहरू समेत पाउन सकिन्छ । त्यो हिसाबले पनि आकर्षण हुन सक्छ । ठूलो परिणाममा बिक्री गर्दा कम्पनीहरूले विभिन्न स्किमहरू ल्याउने हुनाले त्यहाँ पनि फाइदा हुन सक्ने अवस्था रहन्छ । नयाँ संस्करणका जति पनि कुराहरू हुन्छन् ती उक्त थलोमा देख्न पाउन सक्नुहुन्छ । यस्तै कतिपयले कुनै नयाँ उत्पादन सार्वजनिक गर्नका लागि इन्फोटेकनै कुरिरहेको हुन सक्छ ।


  •  
  •  
  •