चार वर्षमा २२ लाख एमआरपी

431
  •  
  •  
  •  

काठमाडौं, २ साउन (ओएनएस) । झन्डै चार वर्षको अवधिमा राहदानी विभागले २२ लाख यन्त्रले पढ्ने राहदानी (एमआरपी) जारी गरेको छ । विभागले गत आवमा एमआरपीबाट चार अर्ब ४० करोड राजस्व संकलन गरेको थियो भने आव २०६९÷७० मा तीन अर्ब ९१ करोड संकलन भएको थियो ।

यन्त्रले पढ्ने राहदानी उत्पादन एवं वितरणबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रमेशप्रसाद खनालले सन् २०१० को डिसेम्बर २६ देखि एमआरपी वितरण प्रारम्भ भएको र त्यसयता अहिलेसम्म २२ लाख एमआरपी जारी भएको जानकारी दिए ।

विभागले एक हजार ६ सय ३० थान कूटनीतिक, नौ हजार १ सय ७० वटा विशेष, २१ लाख ८३ हजार ८ सय ९३ थान साधारण राहदानी र ८ सय २९ वटा यात्रा कागजात (ट्राभल डकुमेन्ट) जारी गरेको बताए ।

एमआरपीबापत राजस्वमा योगदान भएको उक्त रकम द्रुत सेवा उपयोग गर्ने सेवाग्राहीबाट मात्र प्राप्त भएको जानकारी दिँदै उनले विदेशस्थित नेपाली नियोग र ७५ वटै जिल्ला प्रशासन कार्यालयले लिने राहदानीबापतको रकम त्यसमा समावेश नभएको स्पष्ट गरे ।

राहदानी नियमावलीलाई संशोधन गर्न विभागले मन्त्रिपरिषद्मा मस्यौदा प्रस्तुत गरिसकेको र राहदानी लिन चाहने सेवाग्राहीको सुविधालाई दृष्टिगत गरी प्रत्यक्ष आवेदन दर्ता प्रणाली लागू गर्न क्रियाशील रहेको जानकारी दिँदै उनले सीमित भौतिक एवं आर्थिक स्रोत र साधनका कारण सेवाग्राहीलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने गरी राहदानी वितरण गर्न नसकिएको स्वीकार गरे ।

एक प्रश्नको जवाफमा महानिर्देशक खनालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार सन् २०१५ को नोभेम्बर २४ सम्ममा एमआरपी जारी गरिसक्नुपर्ने बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी विदेशस्थित नेपाली नियोगलाई हालको पाँचदिने कार्यालय दिनलाई ६ दिनमा बढाउन पत्राचार भइसकेको जानकारी दिए ।

सोही वर्षको मे २४ देखि हस्तलिखित राहदानीमा प्रवेशाज्ञा (भिसा) नलाउने आइकाओको नियम भएकाले निर्धारित समयअगावै उपलब्ध सीमित स्रोत र साधनबाट एमआरपी जारी गर्नु चुनौतीपूर्ण हुने उनले बताए । उनले भौतिक पूर्वाधार, पर्याप्त जनशक्ति र बजेट उपलब्ध गराउनसके बिनाव्यवधान तोकिएकै समयमा एमआरपी जारी गर्न सकिने स्पष्ट पारे ।


  •  
  •  
  •