अमरेशकुमारलाई किन भेटे मोदीले ?

126
  •  
  •  
  •  

काठमाडौं, ३० जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनअघि नै नेपाल आउने इच्छा दर्शाएका छन् ।

 

भारत निकट मानिने नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहसँग भेट गरेका मोदीले नोभेम्बरमा काठमाडौंमा हुने भनिएको सार्क शिखर सम्मेलन अगाडि नै नेपाल जान प्रयत्न गरिरहेको बताए । भेटवार्तामा मोदीले जतिसक्दो चाँडो नेपाल जान चाहेको र विकास योजनामा सघाउ पुर्याउन तत्पर रहेको बताएका सिंहले जानकारी दिए ।

 

उनले भेटमा भारतले अरु दक्षिण एसियाली छिमेकीको तुलनामा नेपाललाई प्राथमिकता दिन नसकेको बताएको जानकारी दिए । ‘वार्षिक अनुपातमा भारतले भुटानलाई ५ हजार करोड र अफगानिस्तानलाई ३ हजार करोड रुपैयाँ सहयोग उपलब्ध गराइरहेको छ तर नेपालका हकमा यो वर्ष सहयोग बढेको भनेर मुस्किलले ६ सय करोड रुपैयाँ मात्रै पुगेको छ,’ सिंहले मोदीलाई भने ।

 

झण्डै २० मिनेट लामो वार्तामा मोदीले नेपालमा जलविद्युत योजना विकास गर्न भारत तत्पर रहेको बताउँदै कुनै योजना टुंगो हुनासाथ त्यसमा लाग्ने सबै खर्च अनुदानका रुपमा उपलब्ध गराउने बताएका थिए । तर उनले संविधान लेखन तथा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आग्रह गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

 

प्रधानमन्त्री भएपछिको पहिलो औपचारिकविदेश भ्रमणमा आइतबारदेखि भुटान जान लागेका मोदी आगामी जुलाईमा जापान र सेप्टेम्बरमा अमेरिका जानेछन् ।

 

भेटमा मोदीले पशुपति जाने उपयुक्त र विशेष दिन कहिले भनेर सोधेका थिए । जवाफमा सिंहले ‘शिवरात्री’ भन्ने जवाफ दिए ।

एजेन्सीहरु


  •  
  •  
  •